मलंगवाको आमसभाका लागि ओली समूहको ठूलो तयारी, पूर्वमन्त्री न्यौपानेसहितका नेता सक्रिय

हरिवन । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्लाहीमा गर्न लागेको बृहत आमसभाको तयारी भब्य रुपमा गरेको छ ।

मलंगवामा पुस २८ गते हुने आमसभाको तयारी स्वरुप नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री न्यौपानेको प्रमुख आतिथ्यतामा बरहथवा र गोडैयामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलाका सहभागीहरूलाई पूर्वमन्त्री न्यौपानेले पुस २८ गतेको आमसभामा सहभागिता जनाउन निर्देशन दिएका छन् । उनले नेकपा विभाजन भएको भन्दै संगठनलाई मजबुत बनाएर निर्वाचनमा केन्द्रित बनाउन आग्रह गरेका छन् ।

सर्लाही क्षेत्र नं. ३, बरहथवामा शनिबार आयोजित कार्यक्रमको अध्यक्षता केदार खत्रीले गरेका थिए ।

यसअघि, सर्लाही क्षेत्र नं. ४ को गोडैयामा भएको कार्यक्रमको अध्यक्षता शिवपुजन राय यादवले गरेका थिए ।

अगुवा कार्यकर्ता भेलाहरूमा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री न्यौपानेसहित कल्पना कटुवाल, हरि उप्रेती, गणेश प्रसाइँ, राजनारायण साह, रामबहादुर राय, राजनारायण राय, शम्भु पासवानलगायतका अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

मलंगवामा हुने आमसभालाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश २ का ईञ्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साहसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

आमसभामा ५० हजार नेता कार्यकर्तालाई उतार्ने गरेर तयारी भइरहेको पूर्वमन्त्री न्यौपानले जानकारी दिए । उनले आमसभामा विभिन्न दल परित्याग गरेर सयौँ नेता कार्यकर्ता प्रवेशको तयारीमा रहेको समेत बताएका छन् ।

सर्लाही जिल्लामा ओली नेतृत्वको नेकपा बलियो रुपमा उदाएको छ । पार्टी कार्यालय पनि ओली समूहले नै कब्जा गरेको छ ।

Published : Saturday, 2021 January 9, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया