वैशाखमा चुनाव होइन, ओलीले संकटकाल लगाउँछन्ः कांग्रेस नेता तिमिल्सिना

राजापुर । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका सदस्य जन्मजय तिमिल्सिनाले प्रधानमन्त्री केपी ओलीले वैशाखमा संकटाल लगाएर सत्ताको आयु लम्बाउने तयारी गरेको दाबी गरेका छन् ।

बर्दिया क्षेत्र नं. २ को ‘ख’ले शनिबार राजापुरमा आयोजना गरेको प्रधानमन्त्री ओलीविरुद्धको प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै तिमिल्सिनाले ओलीको सबै चाल कांग्रेसले बुझेको बताए । उनले जनता सिधासादा भएपनि ओली र नेकपाको सरकारको सबै कुरा राम्रोसँग बुझ्न सक्ने बताए ।

संसद विघटन गरेर ओलीले संविधानमाथि ‘कु’ गरेको उनले बताएका छन् । ‘यो निकम्मा सरकार हो । जनताले बुझ्ने भएका छन्’, तिमिल्सनाले भने, ‘ओलीले वैशाख १७ र २७ मा निर्वाचन गर्ने होइनन् । ओली सरकारले संकटकाल लगाएर सत्ता लम्बाउनेछन् ।’

नेता तिमिल्सिनाले राजापुरका जनतालाई कम्युनिस्टले जग्गा दिने लोभ देखाएर फेरि झुक्काउन खोजेको बताएका छन् । ‘कम्युनिस्टले जग्गाको नाममा फेरि झुक्काउने खेल गरेका छन्’, उनले भने, ‘हाम्रो सरकार भयो भने भ्रष्ट कम्युनिस्टसँग हिसाब माग्छौँ । मल काण्ड भएका छन् । वाइड बडीमा १३ अरबको घोटाला भएको छ । किसानको सरकार भन्ने कम्युनिस्टले किसानलाई मल दिएन ।’

बर्दिया कांग्रेसका पूर्वसभापति अरुण राठौरले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधानको भावनामाथि प्रहार गरेको बताए । उनले कम्युनिस्टहरू असफल भएपछि संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताउन खोजेको बताए ।

बर्दिया– २ ‘ख’का सभापति नाथुराम थारुको सभापतित्वमा भएको विरोध सभाको प्रमुख अतिथि पूर्व सभापति एवम् संगठन विभागका सदस्य अरुण राठौर, विषेश अथिती संगठन विभागका सदस्य जन्मजय तिमिल्सिना, गेरुवा गाउँपालिकाकी उप–प्रमुख एवम् महासमिति सदस्य हेमाकुमारी थारुलगायत सयौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

विरोध र्‍यालीका क्रममा कांग्रेसका नेता कार्यकर्ताले प्रधानमन्त्री ओली र कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए ।

Published : Saturday, 2021 January 9, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया