कम्युनिस्टहरू यो ‘कास्टिङ’मात्रै हो, कांग्रेसलाई नजिस्काउ: युवा नेता महर्जन

चापागाउँ । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले कांग्रेसलाई नजिस्क्याउन कम्युनिस्टहरूलाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन गरेको विरोधमा शनिबार नेपाली कांग्रेस ललितपुरले क्षेत्र नं. १ ‘ख’मा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महर्जनले कांग्रेसको अहिलेको प्रदर्शन कास्टिङ मात्रै भएको बताए । उनले कम्युनिस्टहरूलाई सहि ठाउँमा ल्याउन पूरै फिल्म देखाउन बाँकी रहेको बताएका छन् ।

‘कम्युनिस्ट सरकारका लागि अहिलेको हाम्रो विरोध कास्टिङ मात्रै हो । पूरै फिल्म देखाउन बाँकी छ’, उनले भने, ‘कांग्रेससँग नजिस्कन चेतावनी दिन्छु ।’

प्रधानमन्त्री ओलीले संविधान मिचेर संसद विघटन गरेको उनले बताए । कम्युनिस्टहरू असफल भएर संसद विघटन गर्दा कांग्रेसलाई फाइदा भएपनि कांग्रेस आफूले बनाएको संविधान रक्षाका लागि सडकमा उत्रिएको युवा नेता महर्जनले बताएका छन् ।

‘संविधान मिचिएको छ । कुल्चिएको छ । तानाशाह ओली सरकारले संसद विघटन गरेको छ’, उनले भनेका छन् ।

युवा नेता महर्जनले कांग्रेसका नेताहरूमा कोही चुनावमा जाने र कसैले संसद पुनःस्थापना भनेर अभिव्यक्ति दिने गरेकोमा असन्तुष्टि जनाएका छन् । उनले भने, ‘संसद पुनःस्थापना गरेपनि । निर्वाचनमा गएपनि एउटै स्वरमा बोल्नुपर्छ ।’

‘कांग्रेसका लागि यो सुवर्ण अवसर पनि हो । नेकपाबाट जनता आजित भएका छन्’, महर्जनले भने, ‘कांग्रेसमा जनताको आकर्षण छ । कांग्रेसका नेताहरूले एउटै बोली गरेर जानुपर्छ ।’

‘जनताले कम्युनिस्टलाई तिरस्कृत गरेका छन् । कामचलाउ सरकारले भ्रष्टाचार गरिरहेको छ’, उनले भने, ‘उप–प्रधानमन्त्री ईश्वर पोखरेललाई अहिले पनि जनताले ट्याङ्की मन्त्री भन्छन् । ट्याङकीमा पैसा फेला पर्दा पनि पोखरेललाई कानून नलाग्ने । कांग्रेसका निर्दोष नेतालाई मात्रै फसाउने काम भएको छ । कम्युनिस्टलाई कारबाही भएको छैन ।’

‘खुमबहादुर खड्कालाई दरबार, कम्युनिस्ट र आफ्नै कांग्रेस पार्टीका नेताहरू मिलेर ७८ लाखको स्रोत खुलेन भनेर जेल हाले’, युवा नेता महर्जनले भने, ‘प्रचण्डले क्यान्टोनमेन्टमा अरबौ रुपियाँ भ्रष्टाचार गरेको आएको छ । अहिलेका मन्त्रीले नै बालुवाटारको जग्गा खाएका छन् । उनीहरूलाई कारबाही भएको छैन ।’

‘विजय गच्छदारलाई फसाइएको छ । त्यस बेला माधवकुमार नेपाल प्रधानमन्त्री थिए । विजय गच्छदार मन्त्री मात्रै थिए । प्रधानमन्त्रीको आदेश मन्त्रीले मान्ने हो’, उनले भने, ‘प्रधानमन्त्री नेपाललाई मुद्धा लाग्नु पर्ने हो कि विजय गच्छदारलाई ? बालुवाटरको जग्गा लिने विष्णु पौडेलको त कुरै गर्नु परेन ?’, उनले भने, ‘काण्डै काण्डले पुरस्कृत भएको कम्युनिस्ट सरकारलाई जनताले निर्वाचनबाट परास्त छर्नेछन् । चुनावबाट कम्युनिस्टलाई पत्ता साफ गर्नुपर्छ ।’

गोदावरी नगरपालिकाको चापागाउँस्थित टाहाखेलमा शनिबार आयोजित विरोध सभामा ललितपुर कांग्रेसका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । विरोध सभा हुनुभन्दा अगाडि कार्यकर्ताले ओली सरकारविरुद्ध नारावाजी गरेका थिए ।

Published : Saturday, 2021 January 9, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया