नेविसंघले शुक्रबार काठमाडौंमा कामचलाउ प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

नेविसंघले शुक्रबार कामचलाउ सरकारका प्रधानमन्त्री ओलीविरुद्ध १ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन् ।

‘संसद विघटन गर्ने ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेविसंघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा १ बजे उल्टो हिँडेर प्रदर्शन गर्नेछ’, उनले भनेकी छिन्, ‘प्रदर्शनमा सहभागी हुन नेविसंघका नेता कार्यकर्तालाई अनुरोध छ ।’

ओलीले आफ्नो पार्टीभित्रको विवाद समाधान गर्न नसकेपछि प्रतिनिधि सभा विघटन गरेका थिए । संसद विघटन भएपछि नेपाली कांग्रेससहित अधिकांश राजनीतिक दलहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

कांग्रेसले पुस २५ गते देशभरि ओली सरकारविरुद्ध प्रदर्शन गर्दै छ । प्रदर्शन ३३० वटा प्रदेश सभाका निर्वाचन क्षेत्रहरूमा हुनेछ ।

Published : Thursday, 2021 January 7, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया