ओलीको सनक र लहडमा कम्युनिस्टले प्रतिगामी कदम उठाएः कांग्रेस नेतृ देवकोटा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र असंवैधानिक भनेर टिप्पणी गरेकी छिन् ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै देवकोटाले संविधानले दिदै नदिएको अधिकार प्रयोग गरेर सनक र लहडका आधारमा संसद विघटन गरेको बताइन् । उनले पाँच वर्षको बहुमत पाएको सरकारले बीच बाटोमा संसद विघटन गरेर संविधानलाई धुजाधुजा बनाएको बताएकी छिन् ।

आफ्नै पार्टीको बहुमत भएको संसदको घाँटी रेट्ने प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गर्ने कुरा पत्याउनै नसक्ने बताइन् । उनले ओली सरकार वैशाखमा चुनाव गर्ने योजनामा नरहेको बताएकी छिन् ।

संसदमा जोडघटाउ धेरै भएपछि संविधान निर्माण गर्ने क्रममा सनक र लहडका आधारमा संसद विघटन गर्ने व्यवस्थालाई हटाएर संसद विघटन गर्न नमिल्ने प्रावधान गरिएको कांग्रेस नेतृ देवकोटाले बताएकी छिन् । पार्टीभित्रको झगडाका कारण संसद विघटन गरेर मुलुकलाई अस्थिरतातिर लगेको उनले बताइन् ।

कांग्रेसले भ्रष्टाचारको कुरा उठाएको भन्दै प्रमुख सचेतक देवकोटाले भनेकी छिन्, ‘कोरोनाका बेला भ्रष्टाचार गरेको छ, ओम्निमा भ्रष्टाचार गरेको छ, वाइडबडीमा घोटाला गरेको छ । हामीले त्यस बेला नै सरकार भ्रष्टाचार गर्दैछ भनेका थियौँ । अहिले आएर तपाईहरूले पनि सरकार भ्रष्ट छ भन्ने बुझ्नु भए छ ।’

सरकार शुरुदेखिनै अधिनायकवादतिर जान हिँडेको आरोप लगाएकी देवकोटाले विधेयकहरू बनाउँदा जनताका अधिकार खोस्ने कार्यहरू भएको बताएकी छिन् ।

कम्युनिस्टहरूले जनता र संसदसँग फेस गर्न नसकेर संसद विघटन गरेको उनले आरोप लगाइन् ।

संसद विघटन गर्ने कार्य अत्यन्तै दुःख भएको बताइन् । उनले संसद विघटनसँगै मुलुक कालो सुरुङभित्र प्रवेश गरेको बताएकी छिन् ।

Published : Thursday, 2021 January 7, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया