संसदमा आक्रमण गर्ने ओली–ट्रम्प उस्तै हुन्ः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटै बाकसमा राखेर तुलना गरेका छन् ।

कांग्रेस नेता खतिवडाले बिहीबार ट्वीट गर्दै ओलीले संसद विघटन गर्नु र ट्रम्पका कारण संसद भवनमा गोली चल्नुका साथै समर्थकले आक्रमण गरेको विषय यस्तै रहेको भनेर तुलना गरेका हुन् ।

‘अमेरिकामा ट्रम्पले गर्दा संसद भवनमा गोली वर्षाए छन्’, खतिवडाले भने, ‘नेपालमा पनि ओलीले तरवारले संसदीय ब्यवस्थानै काट्न लाग्दै छन् ।’

अमेरिकी संसद भवनमा ट्रम्पका समर्थकले नेपाली समयअनुसार बिहीबार बिहान आक्रमण गरेका छन् । संसदमा गोली चल्नुका साथै एकजनाको मृत्यु भएको छ ।

‘संविधानको अनाधिकृत प्रयोगमा रोक लगाऔँ । संविधानको पालना गरौं’, उनले भनेका छन् ।

खतिवडाले भनेका छन्, ‘कानूनी राज्य र स्वतन्त्र न्यायपालिकाको लागि हामी धेरैले लडाइँ लडेको हो । न्यायाधीशले कसैको दबाबमा हैन संविधान, कानूनको सहयोगमा निर्णय गर्ने परम्परा रहिआएको र रहिरहनेछ ।’

कांग्रेस नेता खतिवडाले प्रधानमन्त्री ओलीलाई फोटो झुण्डाउने प्रवृत्तिबाट मुक्त हुन सुझाव दिएका छन् ।

‘यो देशमा देश र जनताप्रति भन्दा फोटो त पदप्रति माया गर्ने प्रधानमन्त्री केपी ओली’, उनले भनेका छन्, ‘कहिले पोलपोलमा, कहिले हनुमानका घाटीमा । हरे सुःखी नेपाली, समृद्धि नेपाल ।’

कम्युनिस्टको कठोर आलोचना गर्दै आएका कांग्रेसका युवा नेता खतिवडा कम्युनिस्टहरूविरुद्ध अनुदार मानिन्छन् ।

कम्युनिस्टहरूले झुठ बोलेर सधैँ जनतालाई धोका दिएर राष्ट्रियतालाई कमजोर बनाउने कार्यमा लाग्ने गरेको आरोप खतिवडाका बेलाबेलाका अभिव्यक्तिहरूमा आउने गरेका छन् ।

Published : Thursday, 2021 January 7, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया