भारतद्वारा हुम्लाको विद्यालय भवन बनाउन ४ करोड प्रदान

काठमाडौं । भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिबीच जिल्लाको चंखेली–दार्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको यस परियोजनाका लागि भारत सरकारले नेरु.४.४१३ करोड आर्थिक सहयोग प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग आबद्घ रहेको छ ।

साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ ।

परियोजनाअन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । यीमध्ये १४ वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् जसमा हुम्ला जिल्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालय निर्माण परियोजना विविध चरणमा रहेका छन् ।

नजिकका छिमेकी भारत र नेपालबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध रहेको छ ।

प्राथमिकताको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको प्रयासलाई पूर्णता दिन भारत सरकारको निरन्तर प्रतिबद्घतालाई पनि दुई देशबीच सम्पन्न सम्झौतापत्रले प्रतिबिम्बित गरेको भारतीय राजदूतावासले जनाएको छ ।

Published : Thursday, 2021 January 7, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया