भारतीय दूतावासद्वारा प्राधिकरणलाई ३० करोडको चेक हस्तान्तरण

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई भारत सरकारको सहयोगमा निर्माण भइरहेका विभिन्न पुनर्निर्माण परियोजनाबारे छलफल गरेका छन् ।

बुधबार भएको भेटमा खम्पाले नेपालमा भूकम्प प्रभावित शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि नेपाली रुपियाँ ३०.६६ करोड बराबरको चेक हस्तान्तरण गरेकी छिन । चेकको हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई नेरु ८१.९८ करोड रकम सोधभर्ना गरेको छ ।

नेपालमा शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन लगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ ।

यी परियोजनाहरु गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रहेका छन् । गोरखामा ३ र नुवाकोटमा ५ वटा विद्यालयको निर्माण सम्पन्न भएका छन् भने अन्य पाँच जिल्लामा ५६ विद्यालयहरू निर्माणाधीन अवस्थामा रहेकोमा ७ वटा विद्यालय ठेक्का हस्तान्तरणको अन्तिम चरणमा रहेका छन् ।

भारत सरकारको सहयोगमा आवास, स्वास्थ्य तथा सांस्कृतिक सम्पदाको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियाजनाबारे पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

गोरखा र नुवाकोट जिल्लामा ५०,००० घर निर्माणका लागि भारतले १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ भने १० जिल्लामा १४७ वटा अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ ।

८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुननिर्माण तथा पुनस्र्थापनाका लागि अर्को ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ । आवास क्षेत्रका परियोजनाहरू लगभग सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण भइसकेको छ भने शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु विभिन्न चरणमा द्रुत रुपमा अघि बढिरहेका छन् ।

Published : Thursday, 2021 January 7, 8:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया