आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन, निर्णय पर्खनुपर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीद्वारा सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको दोहोर्‍याएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिहीबार बिहान फेसबुक लाइभमार्फत देउवाले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध देशभरि प्रदर्शन गरिसकेको बताए । उनले भने, ‘यसका विरुद्ध देशव्यापी प्रदर्शन गरेका छौं । जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता हो ।’

कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सम्वर्द्धनका लागि नेपाली कांग्रेस एकताबद्ध रहेको उनले बताए । देउवाले भने, ‘आजको हाम्रो मुल अभिभारा यहि हो ।’

अदालतमा मुद्दा विचाराधीन भएकोले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले अहिले आन्दोलन नगर्ने देउवाको भनाइ छ ।

‘आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन’, उनले भने, ‘कसैको खिलापमा भयो भने पछि पनि आन्दोलन हुने भएकोले सोंचे विचार गरेरै हामीले आन्दोलन नगरेको हो । अदालतको निर्णय पर्खनुपर्छ ।’

प्रजातन्त्रमाथि खतरा आइपरेको देउवाले बताएका छन् । मानव अधिकारलगायत अधिकार कब्जा गर्न प्रधानमन्त्री ओली लागिपरेको देउवाको आरोप छ ।

उनले भनेका छन्, ‘कुनै पनि बाहनामा हामी एकदलीय शासन मान्दैनौं ।’

वीपी कोइरालाले ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिएको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको सभापति देउवाले बताएका छन् ।

उनले भने, ‘मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो हो ।’

‘वीपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नु भएको थियो’, उनले भने, ‘जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन उहाँले लिएको नीतिकै जगमा ०४६ सालको परिवर्तन भएको थियो ।’

‘मेलमिलापको नीतिले राजालाई पनि ठीक ठाउँमा ल्याउन खोज्यो, प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो’, उनले भनेका छन् ।

‘वीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिंडेका माओवादीहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो’, देउवाले भने ।

कांग्रेस सभापति देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै रहेको बताएका छन् ।

वीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गरेको पुस १६ गतेका अवसरमा नेपाली कांग्रेसले हरेक वर्ष कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

Published : Thursday, 2020 December 31, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया