प्रचण्ड–माधव समूह कमजोर हुँदै, दुई सांसदले साथ छाडे

जनकपुरधाम । प्रदेश २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका दुई जना प्रदेश सांसद केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

प्रचण्ड–माधव समूहका प्रदेश सांसदद्वय ज्वालाकुमारी साह र रामचन्द्र मण्डल ओली समूहतिर लागेका हुन् ।

मण्डल र साह बुधबार ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलामा समेत सहभागी भएका छन् । भेलामा उनीहरूले सम्बोधन समेत गरेका छन् ।

ज्वालाकुमारी साह बाराको क्षेत्र नम्बर ३ ‘क’ बाट तत्कालीन माओवादीबाट निर्वाचित भएकी थिइन् ।

तत्कालीन माओवादीका सांसद रामचन्द्र मण्डलले आफूले प्रधानमन्त्री ओलीको अभियानलाई साथ दिने बताएका छन् ।

प्रदेश २ मा नेकपामा ३२ जना सांसद थिए । तत्कालीन एमालेका २१ र माओवादीका ११ जना सांसद छन् ।

प्रचण्ड–माधवका अरु ६ जना सांसद ओलीतिर जाँदा ओली समूहको सांसदको संख्या १९ पुग्नेछ ।

यसअघि, प्रचण्डका विश्वासपात्र प्रभु साहले ओलीलाई साथ दिइसकेका छन् । साह मन्त्री समेत बनेका छन् ।

Published : Thursday, 2020 December 31, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया