‘प्रचण्ड–माधव’ समूह सडकमा जान खुट्टा कमायो, खोज्यो कांग्रेसको साथ

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसद पुनःस्थापनाको माग गरेर एक्लै सडकमा जान डराएको छ ।

बुधबार काठमाडौंको कोटेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गर्न सकेन । कांग्रेसहितका दलहरूसँग सल्लाह गरेर संघर्षका कार्यक्रम सार्वजनिक गर्नेभन्दै आन्दोलनका दिइएन ।

प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको थियो ।

संसद विघटनको विरोधमा रहेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरूसँग छलफल गर्नुपर्ने भएकाले तत्काल कार्यक्रम सार्वजनिक नगरिएको नेताहरूले बताएका छन् ।

संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले भोलि र पर्सि कांग्रेससहितका अन्य दलहरूसँग छलफल गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।

नेपाली कांग्रेसले संसद विघटनको विरोध गरे पनि आन्दोलनमा जानेबारेमा ठोस निर्णय गर्न सकेको छैन । सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतका फैसला पर्खनुपर्ने अडानमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनाका लागि सडक आन्दोलन गर्नुपर्ने पक्षमा छन् ।

जनता समाजवादी पार्टी (जसपा)ले एकल रुपमा आन्दोलनको घोषणा गरेको छ । जसपा नेताहरूका अनुसार नेकपा दुई खेमामा विभाजित भएपनि औपचारिक रुपमा पार्टी नफुटेकाले आन्दोलनमा सहकार्य गर्न गाह्रो भएको बताएका छन् ।

नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको केन्द्रीय संघर्ष समितिले मंगलबार देशभर भएको प्रदर्शनको समीक्षा गरेको छ ।

Published : Wednesday, 2020 December 30, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया