संसद पुनःस्थापना हुँदैन, सडकमा कपडा मैलो नबनाउनुस्, प्रचण्ड–माधवको प्वाँख पलायोः केपी ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले संसद पुनःस्थापना नहुने दोहोर्‍याएका छन् ।

अगुवा कार्यकर्ता भेलालाई बुधबार काठमाडौंको बबरमहलमा सम्बोधन गर्दै ओलीले विघटन भएको संसद कुनै पनि हालतमा पुनःस्थापना नहुने बताए ।

‘संसद विघटन गर्दा म ६४ प्रतिशत बहुमतको नेता हुँ । त्यस बेला त्यो हैसियतले विघटनको सिफारिस गरेको हुँ’, उनले भने, ‘अर्को सरकार बनाउने भए पनि ५१ प्रतिशत चाहिन्छ । त्यो कसैसँग थिएन । छैन ।’ ‘संसद पुनःस्थापनाको कुनै सम्भावना छैन’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

‘संविधानको धारा ७६ को उपचार ४ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गर्न सक्नेछ । नयाँ निर्वाचनको मिति तोक्नेछ भनेर लेखेको छ’, ओलीले संसद विघटनको बचाउमा भनेका छन् । ओलीले बेलायतमा पनि संसद विघटन गरेर नयाँ निर्वाचन भएको उदाहरण दिएको बताएका छन् ।

‘चुनाव गरेर लोकतन्त्र, गणतन्त्र केही पनि जाँदैन’, उनले भने, ‘निर्वाचन गरेर लोकतन्त्र र गणतन्त्र झन् बलियो हुन्छ ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ओलीले सडकमा गएर कपडा नबिगार्न सुझाव दिएका छन् । उनले भने, ‘सडकमा गएर कपडा बिगार्ने काम नगर्नुस् । केही सिट जित्नुस । शुभकामना दिन्छु । केही सिट जित्नुछ भने अहिलेदेखि तयारी गर्नुस् ।’

उनले भनेका छन्, ‘वैशाखमा ओली सरकार सकिन्छ भन्नुभएको छ । गतल भविष्य वाणी गर्नु हुन्छ । बैंकमा उपचार गर्न गएको थिएँ । मलाई काठमाडौं आउँदा काठको बाकसमा आउँछ भनेका थिए । इन्फेक्सन भएर अस्पताल भर्ना भएका बेला पनि मर्छ भनेर भविष्यवाणी गर्नुभएको थियो । मिलेन ।’

‘उहाँहरू सिंगौरी खेलेर हिड्नु हुन्छ । एक्लै सिंगौरी खेल्दा खतरा हुँदैन’, ओलीले भने, ‘निर्वाचनमा सिंगौरी खेल्दा थाहा हुन्छ । उहाँहरू निर्वाचनबाट डराउनु भएको छ ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई प्वाँख पलाएको बताएका छन् । ‘कमिलाको प्वाँख पलायो भने दुलाबाट बाहिर आउँछ । दुलोबाट फुत्त निस्क्यो भने बाहिर चरा उडिरहेको हुन्छ च्याप्प पार्छ’, ओलीले भने, ‘उहाँहरूको प्वाँख पलाएको छ । जनताले हिसाव राखेका छन् । निर्वाचनमा च्याप्प–च्याप्प पार्छन् ।’

ओलीले आफूलाई निरंकुश भनेर प्रचण्ड–नेपालले लगाएको आरोपको खण्डन गरेका छन् । उनले भने, ‘जसले ३० वर्षदेखि प्रतिस्पर्धा गरेको छैन । अध्यक्ष भएको भइछ । त्यसले मलाई निरंकुश भन्छन् । म माधवकुमार नेपालसँग प्रतिस्पर्धा गरेर अध्यक्ष बनेको हुँ ।’

Published : Wednesday, 2020 December 30, 5:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया