अग्नि सापकोटाको क्षेत्रमा कांग्रेसको शक्तिशाली प्रदर्शन, हजारौँ मान्छे देखेर छक्कै परे कम्युनिस्टहरू

निरोज चौलागाइँ

जलवीरे । नेपाली कांग्रेस सिन्धुपाल्चोकको क्षेत्र नं. १ ले संसद विघटन भएको विरोधमा भव्य प्रदर्शन गरेको छ ।

सोमबार हजारौँ कार्यकर्ताका साथ कांग्रेसले जलवीरेमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनको नेतृत्व कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए ।

चारतारे झण्डा र बाजागाजासहित सडकमा उत्रिएका कांग्रेसका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गरेका थिए । उनीहरूले कम्युनिस्टहरू असफल भएको भन्दै देशको नेतृत्व कांग्रेसले लिने बताएका थिए ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा खेलकुद विभागका प्रमुख समेत रहेका केन्द्रीय सदस्य बस्नेतले जनताले पाँच वर्ष सरकार चलाउन झण्डै दुईतिहाइ बहुमत दिँदा पनि कम्युनिस्टहरू असक्षम भएर संसद विघटन गरेको बताए । उनले स्पष्ट बहुमत हुँदा पनि र कांग्रेसले साथ दिँदा समेत कम्युनिस्टहरूले सरकार चलाउन नसकेको बताए ।

कम्युनिस्टहरूलाई अझै पनि मौका रहेको भन्दै बाँकी दुई वर्ष सरकार चलाएर देखाउन कांग्रेस नेता बस्नेतले चुनौति दिए । तर, कम्युनिस्टहरू भ्रष्टाचार, अराजकता, व्यक्तिगत स्वार्थमा लागेकाले देश र जनताका लागि सिन्को पनि भाँच्न नसक्ने नेता बस्नेतले बताएका छन् ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ बाट तत्कालीन माओवादीका नेता अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा जितेका थिए । सापकोटा अहिले सभामुख छन् । सापकोटाले आफ्नो जिल्ला र क्षेत्रको विकास र उन्नतिमा काम गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

कम्युनिस्ट र सापकोटासँग निरास भएका नेता कार्यकर्ताहरू धमाधम कांग्रेसमा प्रवेश गर्दै आएका छन् ।

Published : Tuesday, 2020 December 29, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया