अदालतमा विचाराधीन भएकाले धम्क्याएर यो निर्णय गर भन्दैनौँः देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरूलाई मान्य हुने बताएका छन् ।

भक्तपुरमा कांग्रेसले सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको बताए । उनले असंवैधानिक र अलोकतान्त्रिक कदम भएकै कारण आफूहरुले देशभर प्रदर्शन गरेको बताएका छन् ।

उनले भने, ‘यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् भन्दैनौँ ।’

‘यो मुद्दा अदालतमा छ’, सभापति देउवाले भने, ‘हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’
कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको उनले बताएका छन् ।

‘तै पनि कति कुराहरुमा अदालतले स्वविवेकीय निर्णय गरेको छ’, सभापति देउवाले भने, ‘त्यसैले हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौं ।’

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएपनि अदालतको पक्षरविपक्षमा कांग्रेसले तर्क नगर्ने बताए ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेस एक्लै सडकमा उत्रने निर्णय केन्द्रीय समितिबाट गर्ने उनले बताएका छन् ।

Published : Monday, 2020 December 28, 5:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया