कांग्रेसलाई हल्का रुपमा लिए ओली र कम्युनिस्टहरू समाप्त हुनेछन्ः खाँण

भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले संसद विघटन गर्ने निर्णय सच्याउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

गृहजिल्ला रुपन्देहीको भैरहवामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक समेत रहेका नेता खाँणले संसद विघटन गर्ने ओलीको कदम संविधान विरोधी रहेको बताए । उनले भने, ‘ओलीको कदम असंवैधानिक छ । ओलीलाई संसद विघटन गर्ने अधिकार छैन ।’

प्रधानमन्त्री ओलीको संसद विघटन गरेकोमा विरोध गरेको भन्दै ओलीलाई सच्चिन खाँणले चेतावनी दिएका छन् ।

नेता खाँणले कांग्रेसको सन्देश, निर्णय र सुझावलाई हल्का रुपमा लिएमा ओली र कम्युनिस्टहरू समाप्त भएर जाने चेतावनी दिए ।

‘कांग्रेसको सन्देश, निर्णय र सुझावलाई हल्का रुपमा लिनुभयो भने ओलीजी तपाईको भविष्य समाप्त भएर जानेछ । संसद विघटन गर्ने निर्णय फिर्ता लिनुस् । जनतासँग माफी माग्नुस्’, उनले भने, ‘ओली मात्रै होइन नेपालबाट सारा कम्युनिस्ट सिद्धिनेछन् । कम्युनिस्टलाई लाइट बालेर खोज्दा पनि भेटिनेछैनन् ।’

कांग्रेसका नेता खाँणले सोभियत संघ सुरुमा कम्युनिस्टहरूलाई जरैदेखि उखेल्ने काम गरे जस्तै ओली र कम्युनिस्टहरूलाई पनि उखेलेर फल्ने दिन नआओस् भनेर धम्की दिएका छन् । उनले कांग्रेसको आन्दोलनलाई ओलीको सरकारले रोक्न नसक्ने बताए । उनले कांग्रेसले संविधानको रक्षा कांग्रेसले गर्ने बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले उल्लंघन गर्दै आएको बताएका छन् । खाँणले संविधानको रक्षक राष्ट्रपति भण्डारीले नै संविधान उल्लखंघन गरेको बताए । उनले प्रधानमन्त्री भएकै दिनदेखि ओलीले संविधान भत्काउन शुरु गरेको बताए ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको रक्षा र पालना गर्नुभएको छैन । संविधानकै आधारशीलामा निर्वाचन भयो । राष्ट्रपति बन्नुभयो । राष्ट्रपतिले संविधान कमजोर बनाउने काम गर्नुभयो’, उनले भनेका छन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला राष्ट्रिय सभाको निवार्चनका लागि अध्यादेश बनाएर स्वीकृत गर्न पठाउँदा राष्ट्रपति भण्डारीले स्वीकृत गर्न एक महिना लगाएको बताए ।

उनले भने, ‘सबैले दवाव दिएपछि अध्यादेश पास गर्नुभयो । देउवाले राष्ट्रिय सभामा तीन जनालाई मनोनीत गराउन नाम पठाउनुभयो । त्यो प्रस्ताव अहिलेसम्म पास भएको छैन । राष्ट्रपति भण्डारीले देउवाको सिफारिसलाई फालेर ओलीजीले पठाउनुभएको तीन जनालाई सांसद बनाउनुभयो ।’

नेता खाँणले संवैधानिक परिषदको बैठक कार्यसञ्चालन अध्यादेश पाँच मिनटमा स्वीकृत गरेको भन्दै राष्ट्रपति भण्डारीले संविधानको रक्षा गर्नुको साटो संविधानको भक्षक भएको बताए ।

विरोध भएपछि फिर्ता लिएको अध्यादेशलाई फेरि राष्ट्रपतिले पारित गरेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा भ्रष्टाचारीलाई संरक्षण गरेर राखेको आरोप पनि लगाएका छन् ।

‘ओलीजीले भ्रष्टाचारीको मुख हेर्दैन भन्नुभयो । उहाँकै पालामा यती काण्ड भयो, ओम्नी काण्ड भयो, सेक्युरिटी प्रिन्टिङ प्रेसको ७० करोड कमिशन काण्ड भयो, वाइडबडी काण्ड भयो, सबै हिमाल भाडामा दिनुभयो ।’

विरोध सभा क्षेत्रीय सभापति मातृका यादवको सभापतित्वमा भएको थियो । कार्यक्रममा कांग्रेस नेताहरू रामचन्द्र ढकाल, रामकृष्ण खाँण, ईस्तियाक अहमद, रमा अर्याल, पुष्पा थरुनी, विमल ढकाल, प्रेम फौजदार, पुरण श्रेष्ठ, कृष्णबहादुर विष्ट, हरिध्वज मल्ल लगायत हजारौँ कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 December 28, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया