ओलीको कुर्सी खोस्न र संसद माग्न दाहाल–नेपाल समूहले ५० हजार मान्छे काठमाडौंमा उतार्ने

काठमाडौं । संसद विघटन भएपछि विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

नेकपाको दाहाल–नेपाल समूहले पुस १४ गते प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ । ओलीको राजीनामा समेत माग गरिनेछ ।

आमसभालाई दाहाल, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले सम्बोधन गर्ने युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

दाहाल–नेपाल समूह चुनावमा जान डराएर संसद पुनस्थापनाको माग गर्दै आएको छ ।

आमसभामा शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम उठाएर संसद विघटन गरेको विषयमा स्पष्ट पार्नेछन् ।

दाहाल–नेपाल समूहले उपत्यकासहित छिमेकी जिल्लाबाट जनतालाई आमसभामा सहभागी गराउनेछ ।

संसद पुनःस्थापनाका लागि दबाब दिन ५० हजारभन्दा धेरै नेता कार्यकर्ता उतारिने दाबी दाहाल–नेपाल समूहको छ ।

उपत्यका विभिन्न स्थानबाट आउने जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुनेछ ।

जुलुसहरूलाई ब्यवस्थित बनाउन युवा स्वयंसेवकहरू परिचालन गरिनेछ सापकोटाले बताए ।

टेकु र कीर्तिपुरबाट निस्कने जुलुसमा सीतापाइला, थानकोट, धादिङ र मकवानपुरबाट आउनेहरू कार्यकर्ताहरू सहभागी हुनेछन् ।

नयाँ बानेश्वरबाट आउने जुलुसमा भक्तपुर, काभ्रे, रामेछाप र दोलखाबाट आउने सहभागी हुनेछन् ।

मैतीदेवीबाट निस्कने जुलुसमा साँखुबाट आउने सहभागी हुनेछन् ।

लैनचौर, बालाजुबाट निस्कने अर्को जुलुसमा बुढानीलकण्ठ, नुवाकोट, रसुवा, टोखा र नगरकोटलगायत क्षेत्रबाट आउनेहरु सहभागी हुने छन् ।

विद्यार्थी र युवा बागबजार, त्रिचन्द्र कलेजबाट जुलुस निकालेर भृकुटीमण्डप पुग्नेछन् ।

आमसभामा सहभागी हुन नेताहरू उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ ।

Published : Sunday, 2020 December 27, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया