आइतबार बिहानै कम्युनिस्ट सरकारका तीन मन्त्रीहरूले दिए राजीनामा

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको असर प्रदेश १ को कम्युनिस्ट सरकारमा परेको छ ।

आइतबार बिहान समाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।

उनीहरूले मुख्यमन्त्री शेरधन राईलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली निकटका हुन् । राजीनामा दिने मन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकटका हुन् ।

मन्त्रीहरूले मुख्यमन्त्री राईको नेतृत्वमा बस्न नैतिकताले नदिएकाले पदबाट राजीनामा दिनुपरेको बताएका छन् ।

आफूविरुद्ध हस्ताक्षर अभियान चलाएको भन्दै मुख्यमन्त्री राईले शनिवार प्रचण्ड–नेपाल समूहका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङबोलाई बखास्थ गरेका थिए ।

प्रदेश १ सरकारमा मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, उद्योग वन तथा वातावरण मन्त्री जगदीश कुसैत, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ प्रधानमन्त्री ओलीका सर्मथक हुन् ।

झलनाथ खनाल निकट मानिने कृषि, भूमि तथा सहकारी राज्यमन्त्री राम रानाले पनि राजीनामा दिएका छैनन् ।

Published : Sunday, 2020 December 27, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया