कांग्रेसले बनायो १३ गतेका लागि ९ वटा नाराहरू, देउवाले भक्तपुरमा सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध पुस १३ गते गर्न लागेको विरोध प्रदर्शनका लागि ९ वटा नारा तय गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जिल्लाहरूलाई पठाइएको पत्रमा विभिन्न ९ वटा नाराहरू तोकिएको छ ।

कांग्रेसले एक नम्बरमा ‘संसद विघटनको असंवैधानिक कदम – मर्दावाद’, दुई नम्बरमा ‘नेपाली कांग्रेस – जिन्दावाद’ र अन्तिमको ९ नम्बरमा ‘महिला हिंसा र बलात्कार – अकर्मण्य भो ओली सरकार’ भन्ने उल्लेख छ ।

‘सर्वसत्तावाद – मुर्दावाद’, ‘संघीय लोकतान्त्रिक गणतन्त्र – जिन्दावाद’, ‘ओली नेतृत्वको कम्युनिस्ट सरकारको ३ वर्षे उपहार – कुशासन र भ्रष्टाचार’, ‘जनताले चिन्यो ओली सरकार – चारैतिर भ्रष्टाचार’, ‘जनता कोरोनाको मारमा – नेकपा सत्ताको जितहारमा’, ‘सर्वसत्तावादी ओली सरकार – मुर्दावाद’ भन्ने नाराहरू कांग्रेसले बनाएको छ ।

कांग्रेसले स्थानीय आवश्यक्ताअनुरुप क्षेत्रीय समितिले अन्य नारा तोक्न सक्ने जनाएको छ ।
‘व्यानर, प्ले कार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरू मात्रै प्रयोग गर्न सहभागीहरूलाई अनिर्वा रुपमा पूर्व सूचना गर्नु/गराउनु हुन निर्देशानुसार आग्रह गर्दछु’, मुख्यसचिव पौडेलले भनेका छन् ।

यसैबीच, सभापति शेरबहादुर देउवाले पुस १३ गते भक्तपुर जिल्लामा हुने प्रदर्शनमा सहभागी हुनेछन् । मध्यपुर थिमिको शंखधर साख्वा चोकमा हुने कांग्रेसको विरोध सभालाई देउवाले सम्बोधन गर्नेछन् ।

Published : Saturday, 2020 December 26, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया