ओलीलाई पूर्वएमालेसँग डर, भत्किने भयो नेपालको गुट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहलाई बलियो बनाउन विभिन्न तयारीहरू गरिरहेका छन् । नेकपाभित्र मिल्नै नसक्ने गरि विवाद भएका बेला ओलीले सात वटै प्रदेशमा आफ्नो समूहलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

स्रोतका अनुसार प्रदेश र केन्द्रीय नेताहरूलाई ओली आफैले भेटिरहेका छन् । ओलीले दैनिक सरह बालुवाटारमा नेता र सांसदहरू भेट गरिरहेका छन् । ओली विशेष गरेर वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरूलाई बालुवाटारमा बोलाएर आफूलाई साथ दिन आग्रह गरिरहेका छन् ।

ओलीलाई भेट्न नेता र सांसदहरूलाई केही हप्ता आगाडिसम्म समस्या थियो । ओलीको सचिवालयले उनलाई भेट गर्नै दिँदैन थियो । अहिले भने सचिवालयले नेपाल निकटका नेताहरूलाई छोपेर बालुवाटार छिराउने गरेका छन् ।

नेता नेपाल निकटका एकजना केन्द्रीय सदस्यले भने, ‘पहिला पहिला हामीलाई बालुवाटार छिर्न पनि समस्या थियो । छिर्न पाए पनि ओलीजीसँग भेट्न दिइदैन थियो । अहिले त छोपेर बालुवाटार ल्याएर ओलीसँग भेट गराइँदो रहेछ ।’

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै पनि हालतमा नझुक्ने र आवश्यक प¥यो भने पार्टी विभाजन गर्ने मनस्थितिका साथ बसेका ओलीले पूर्वमाओवादीबाट आफूलाई असुरक्षित ठानेका छैनन् । ओलीले सबैभन्दा असुरक्षित आफूलाई पूर्वएमालेका असन्तुष्ट नेता माधवकुमार नेपालसँग ठानेका छन् । ओलीले नेता नेपाल निकटका नेता र सांसदहरूलाई धेरै महत्व दिएर भेट गर्ने गरेका हुन् । पूर्वमाओवादीले आफूलाई नोक्सान गर्न नसक्ने ओलीको बुझाइ छ ।

पूर्वएमाले नेता झलनाथ खनाल र बामदेव गौतमसँग ओली धेरै डराएका छैनन् । खनाल र गौतमसँग केन्द्रीय सदस्य र सांसदहरू धेरै छैनन् । खनाल र गौतमसँग रहेका नेता तथा सांसदहरू आवश्यक पर्दा आफ्नो समूहमा तान्न सक्ने ओलीको अड्ल छ । तर, नेता नेपालसँग केन्द्रीय सदस्य र सांसदहरू धेरै छन् । उनीहरूले आफूलाई असहयोग गरेर प्रचण्डलाई साथ दिए भने समस्यामा पर्ने ओलीले निकटका नेताहरूलाई बताउने गरेका छन् ।

ओलीले पूर्वमाओवादीहरूका केही सांसद र नेताहरूलाई आफूतिर ल्याइसकेका छन् । पूर्वएमालेका केही सांसद र नेताहरू प्रचण्डतिर जानेछन् । पूर्वमाओवादीका केन्द्रीय नेता रव सांसदहरू पुरानै पार्टीमा गएपनि जाउन् भन्ने पक्षमा ओलीको गतिविधिहरूले देखाएको छ ।

ओली निकटका नेताहरूले नेकपाभन्ने पार्टीमा एकतावद्ध भएर बस्न नसकिने भनेर जिल्ला, प्रदेश र अन्य संगठनहरूमा विभाजनको मनस्थिति बनाएर बसेको एक नेताले बताएका छन् । प्रचण्डले आफूलाई धेरै नोक्सान गर्न नसक्ने ओलीले बताउने गरेका छन् ।

ओलीले पार्टी विभाजन भयो भने संसद विघठनदेखि मध्यावधी निर्वाचनसम्मको सोँच बनाएको भनेर नेकपाभित्रै चर्चा हुने गरेको छ । ओलीको गतिविधि अत्यन्तै निमर्म ढंगले पार्टी विभाजनतिर गएको छ । ढिलो चाँढो नेकपा फुटेरै अगाडि बढ्ने चर्चा भएको छ ।

Published : Thursday, 2020 December 17, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया