ओलीजीले संसद भङ्ग गर्ने तयारी गरेको सूचना आएको छः डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद पनि भङ्ग गर्ने तयारीमा पुगेको भन्ने कुरा सूचना आएको बताएका छन् ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति जिल्ला कार्यसमिति सुनसरीले बुधबार ईटहरीमा आयोजना गरेको रक्तदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले प्रधानमन्त्री ओलीले आफ्नो अनुकूलताका लागि जेपनि गर्ने अवस्थामा पुगेको बताए । उनले मुलुक अत्यन्तै गम्भीर संकटतर्फ धकेलिदै गएको भन्दै सर्तक रहन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

‘अहिले मैले सुन्दै छु । ओलीजीले अब आफ्नो अनुकूलका लागि संसद पनि भङ्ग गर्ने या जे कुराले आफ्नो सत्ता सेक्यौर हुन्छ त्यसको लागि जे पनि गर्न तयार अवस्थामा उहाँ हुनुहुन्छ भन्ने कुराहरू आइराखेको छ’, सह–महामन्त्री डा.महतले भने, ‘यस्तो परिस्थितिमा नेपाली कांग्रेस सम्पूर्ण नेता कार्यकर्ताहरू सजग भएर एलर्ट भएर बसौँ ।’

‘लोकतान्त्रिक मूल्य र मान्यता रक्षाको लागि यो सरकारको कु–कृत्यका विरुद्धमा लागौँ’, उनले भने, ‘अस्ति मंसिर २९ गतेको कार्यक्रम प्रारम्भ मात्रै हो । शुरुवात मात्रै हो । यसपछि पनि निरन्तर कार्यक्रम दिनेछौँ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले ओली र कम्युनिस्टहरूले देशलाई गम्भीर संकटतर्फ धकेलिरहेको बताएका छन् ।

‘हाम्रो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वार्थमा ठूलो आघात पुग्ने काम यो सरकारले गरिरहेको छ । कुरो एकातिर काम अर्कोतिर भएको छ’, उनले भने, ‘देशमा लामो संघर्ष भएको छ । बलिदानबाट कांग्रेसकै नेतृत्वमा कानूनी शासनलाई संस्थागत गर्ने अभियान हो त्यसलाई कमजोर बनाउने काम यो सरकारबाट भइरहेको छ ।’

‘अहिले अन्यौल बढिरहेको छ । जे पनि हुन सक्छ । देशलाई त्यस्तो स्थितिमा पु¥याएका छन्’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

पार्टीको १४औँ महाधिवेशन फागुनमा गर्न चुनौति रहेको उनले स्वीकार गरेका छन् । ‘फागुनमा १४औँ महाधिवेशन गर्ने भनेका छौँ । पाँच महिनाको लकडाउनले हामीले ५ महिना गुमायौँ’, उनले भने, ‘अहिले पनि त्यति सहज छैन । तैपनि हामी क्रियाशील छौँ । फागुनमा हुने अधिवेशन फागुनमै गर्नको लागि चुनौति थपिएको छ ।’

डा.महतले भने, ‘समय थप गर्नुपरेमा छोटोभन्दा छोटो समय थपेर अधिवेशनको काम पनि अगाडि बढ्छ । अर्को निर्वाचनलाई तयारी गरेर त्यसको लागि आफूलाई तयार राख्ने ।’

‘एउटा नेता आएर अर्कोलाई गाली गर्ने, अर्को नेताले अर्कोलाई गाली गर्ने कार्य हुनु हुँदन । त्यो कुरा सन्दै नसुन्ने’, उनले भने, ‘म आएर अर्को खराब मैले नै भन्छु भने पनि यो कुरा सुन्न तयार छैनौँ भनेर तपाईहरूले भन्नुपर्छ ।’

‘फलानोले गर्न सकेन, म भएको भए सम्पूर्ण गर्छु भन्न सक्छ । कसैले केही गर्ने वाला छैन’, उनले भनेका छन्, ‘सबैले सामूहिक रुपमा काम ग¥यौँ भने परिणाम निस्कन्छ । एक्लै कोही पनि केही पनि होइन ।’

‘वीपी जस्तो ठूलो नेताले गणेशमान, किसुनजीलगायतसँग सल्लाह गर्नु हुन्थ्यो भने अहिले त त्यो तहको नेता पनि छैनन्’, उनले भने, ‘म भएपछि सम्पूर्ण जादु गर्छु भन्ने लागेको छ भने गलत हो । सम्पूर्ण एकताबद्ध हुने, एकअर्कालाई सघाउने’, उनले भने, ‘हामीलाई युवा र बुढा सबैको खाँचो छ । सबैको सामूहिक बलले मात्रै लोकतन्त्र संस्थागत हुन्छ । नेपाली कांग्रेस बलियो हुन्छ । यही कुराको लागि हामी सर्मपित हौँ ।’

प्रधानमन्त्री ओली सत्ता कसरी बचाउने भनेर लकडाउनका बेला लागेको डा.महतले बताए । ‘बजेट ल्याए नेताको नाममा करीव एक अरब रुपियाँ दिइयो । राज्यको साधन स्रोत कम्युनिस्ट कार्यकर्ताको मुखमा बुझो लगाउन बजेट दिइयो’, उनले भने, ‘नेकपाले जितेको स्थानीय तहमा बजेट दिइएको छ । कांग्रेसले जितेकोमा बजेट दिइएको छैन ।’

अहिले पनि कोरोना संक्रमित प्रसस्त रहेको उनले बताएका छन् । ‘परीक्षण बन्द भएको छ । परीक्षण नहुँदा को संक्रमित छ भनेर थाहा हुन सकेको छैन’, उनले भने, ‘संक्रमितले निजी अस्पतालमा १ लाख रुपियाँ दैनिक तिर्नुपर्ने अवस्था छ । गरिवले कसरी उपचार गर्ने ?’
उनले प्रधानमन्त्री ओलीको सरकार भ्रष्टाचारी भएको बताए । उनले भने, ‘सरकार भ्रष्टाचारको पर्यावाची भएको छ ।’

उनले भने, ‘ओली सरकारल जनतालाई सहयोग गर्ने पक्षमा छैन भन्ने कुरा हिजोको घटनाले प्रमाणित गरेको छ । स्वतन्त्र रुपमा निर्वाचन नगर्ने हो भने, अरु किन निर्वाचनमा जाने हो । सरकारले जे भन्यो त्यही गर्ने हो भने अरु किन चाहियो । अख्तियारले विरोधीलाई मुद्धा लगाइदिने ।’

‘जो भ्रष्टाचारी छ । साधन स्रोत दुरुपयोग गर्नेलाई कारबाही नगर्ने हो भने लोकतान्त्रिक हुँदैन’, उनले भने, ‘संवैधानिक निकाय भने सरकारभन्दा स्वतन्त्र भएर काम गर्ने निकाय हो । भ्रष्टाचार जसलाई लगाउने पर्ने । देउवा जानु भएन । राजनीतिक संकट छ । संवैधानिक संकट खडा भएको छ । शक्ति केन्द्रको संघर्षको अखडा बनाएका छन् ।’

‘कोरोनाका बेला भ्रष्टाचार गर्नु पाप हो । उप–प्रधानमन्त्री ईश्वर पोखरेलको कमिटीले स्वास्थ्य सामग्री खरिदमा घोटाला गरेको छ । अख्तियारले केही गरेन । अख्तियारमा आफू निकटका मान्छे ल्याउन खोजिएको छ’, उनले भनेका छन् ।

‘ओली गएर नेपाल वा दाहाल आएर सुधार हुँदैन । कम्युनिस्ट मानसिकता हुँदासम्म सुधार हुँदैन’, उनले भने, ‘नेपालमा कम्युनिस्टले जितेको छ । कांग्रेस हारेको छ । ०४६ पछि कांग्रेसले विकास गर्ने, शिक्षा स्वास्थ्य बनायो । कम्युनिस्टल गलत प्रचार गरेका छन् । कांग्रेसलाई काम नगर्ने पार्टी भनेका छन् । कामै नगर्ने कम्युनिस्टलाई काम गर्ने पार्टी भन्छन् । हामीले गर्दा कम्युनिस्टले फल खाइरहेका छन् ।’

Published : Wednesday, 2020 December 16, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया