तनहुँमा पौडेलसँग लफडा गरेका कम्युनिस्ट सांसद श्रेष्ठका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

बन्दीपुर । तनहुँ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्यद्वय डा.मीनेन्द्र रिजाल र गोविन्द भट्टराईले बन्दीपुर गाउँपालिका–२ खहरेमा मंगलबार आयोजित कार्यक्रममा नेकपाका ७० भन्दा धेरै स्थानीय नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

बन्दीपुरमा ७० भन्दा धेरै नेकपा कार्यकर्ता पार्टी प्रवेश गरेको कांग्रेस नेता सुरेश भट्टराईले जानकारी दिएका छन् ।

कार्यक्रममा कांग्रेस नेता डा. रिजालले ढिलै भए पनि पार्टी प्रवेश गरेका नेकपाका स्थानीय नेता कार्यकर्ताहरूलाई स्वागत गरे । उनले नवप्रवेशीहरूलाई संरक्षण गर्ने भन्दै कम्युनिस्ट जस्तो झुठको खेती गर्न कांग्रेसले नजानेको बताए ।

केन्द्रीय सदस्य भट्टराईले खानेपानी, बाटो लगायतका सबै विकासका कार्यक्रम कांग्रेसका नेताहरूको नेतृत्वमा भएको बताए । उनले तनहुँमा प्रदेश सरकारमा रहेका नेताहरू लाभ लिने र जस लिने बाटोमा लागेको आरोप लगाए ।

कार्यक्रम तनहुँ क्षेत्र नं. २ का सभापति गोकर्ण बानियाँको सभापतित्वमा भएको थियो । जिल्ला सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जीतप्रकाश आले, सचिव विश्व बास्तोला, कोषाध्यक्ष रेशम गुरुङ, महासमिति सदस्यद्वय रामचन्द्र अधिकारी र कृष्णप्रसाद गौतम, व्यास नगर सभापति शान्तिरमण वाग्ले, बन्दीपुर संयोजक अशोककुमार श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

नेकपाका स्थानीय नेता भरत विकको नेतृत्वमा ७० भन्दा धेरै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

केही दिन अगाडि पुल उद्घाटन गर्ने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्व्यवहार गरेको आरोप लागेका नेकपाका सांसद किसान श्रेष्ठको जिल्लाका स्थानीय नेता कार्यकर्ताले कांग्रेसमा प्रवेश गरेका हुन् । सांसद श्रेष्ठका अरु थुप्रै कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको नेताहरूले बताएका छन् ।

Published : Wednesday, 2020 December 16, 8:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया