प्रचण्डका कारण प्रधानमन्त्री र सभामुखबीच ‘घम्साघम्सी’, पूर्वमाओवादीले देख्यो ओलीको ‘पावर’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको बैठकमा असहयोग गरेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले अध्यादेश ल्याएर पावर देखाइदिएका छन् ।

मन्त्रिपरिषदको मंगलबार बालुवाटारमा बसेको बैठकबाट ओलीले अध्यायदेश ल्याउने निर्णय गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषदको बैठक सञ्चालन कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने सभामुख सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएको थियो ।

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी छिन् ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ ।

यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

Published : Tuesday, 2020 December 15, 3:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया