प्रचण्ड धेरै ‘घ्यारघ्यार’ गर्दा ओलीले गुरुङको पद खाइदिने भए

काठमाडौं । प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खड्गप्रसाद ओलीलाई असहयोग गर्दै आएका प्रमुख सचेतक देव गुरुङको पद धरापमा परेको छ ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार गुरुङको राजीनामा माग गरेका छन् । ओलीको कठोर कदमले पूर्वमाओवादीभित्र खैलाबैला भएको छ ।

ओलीले मंसिर २८ गते बसेको स्थायी समितिको बैठकपछि गुरुङलाई प्रमुख सचेतक पदबाट राजीनामा मागेका थिए ।

जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर गुरुङलाई प्रमुख सचेतकबाट हटाउन लागेको जानकारी दिएका छन् । दाहालले त्यसको प्रतिवाद गरेका छन् ।

पूर्वमाओवादी गुरुङ नेकपामा ओलीका आलोचक मानिन्छन् । गुरुङले शुरुदेखिनै ओली सरकारको आलोचना गर्दै आएका थिए ।

Published : Tuesday, 2020 December 15, 3:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया