राष्ट्रपतिको जिल्लाबाट कम्युनिस्टको पतन शुरु, भोजपुरमा कांग्रेसको अहिलेसम्मकै शक्तिशाली प्रदर्शन

भोजपुर । नेपाली कांग्रेस भोजपुरले कम्युनिस्ट अधिनायकवादी सरकारविरुद्ध भव्य प्रदर्शन गरेको छ ।

भोजपुरमा सोमबार कांग्रेसले प्रदर्शन गरेको हो । प्रदर्शनमा भोजपुर कांग्रेसका सभापति नन्दमणि राई, कांग्रेसका केन्द्रीय सदस्य बाबुराम बस्नेत, कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ, कांग्रेस नेता उमेशजंग रायमाझी, धर्मराज राई, विनोद बान्तवा, हेमन्त मुकारुङ, बिरबल राई, कैलाश आले, नेपाल महिला संघकी सभापति सुशीला राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले मन्त्रीका छोराहरूको डिएनए परीक्षण हुनुपर्ने माग गरेका छन् । मुलुकमा हत्या, हिंसा, बलात्कारका घटनाहरू भएको भन्दै उनले विगतमा तरुण दलले मन्त्रीका छोराहरूको संलग्नताका आशंकामा डीएनए परीक्षणको माग गरिएको स्मरण सुनाए ।

उपाध्यक्ष चापागाइँले कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमत भ्रष्टाचार गर्ने लाइसेन्स पाएको आरोप लगाए । ‘भोजपुरमा चप्पल लगाउने कम्युनिस्ट नेताहरू अहिले हेलिकप्टर चढेर हिँड्ने गरेका छन्’, उनले भने, ‘आफ्नै सरकार हुँदा पनि नेकपाका जनप्रतिनिधिहरूले भोजपुर जिल्लामा एक रुपियाँ बजेट ल्याउन सकेका छैनन् । रोएर बसेका छन् ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदको शपथ नखाएर प्रधानमन्त्रीको शपथ लिएको प्रशंग कोट्याएका उपाध्यक्ष चापागाइँले राष्ट्रिय सभाका तीन जना सांसद नियुक्ति गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी विवादित बनेको बताए । ओली र भण्डारी विवादित हुँदै गएको भन्दै उनले मर्यादामा बस्न चेतावनी दिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य बाबुराम बस्नेतले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप लगाए । उनले सरकारमा दुईतिहाइको दम्भले गर्दा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार भएको बताए ।

भोजपुर कांग्रेसका सभापति नन्दमणि राईले कम्युनिस्टहरूको अवशान हुने क्रम शुरु भएको बताएका छन् । उनले जनताहरू सडकमा उत्रिएर कम्युनिस्टहरूलाई विदाइ गर्नुपर्छ भन्ने सन्देश दिएको बताए ।

भोजपुर कांग्रेसले गरेको सरकार विरोधी कार्यक्रममा हजारौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कांग्रेसका सचिव एवम् भोजपुर नगरपालिकाका मेयर कैलाश आलेले लामो समयपछि भोजपुरमा कांग्रेसका हजारौँ कार्यकर्ताहरूलाई सरकार विरोधी कार्यक्रममा आफूले देखेको प्रतिक्रिया दिएका छन् ।

भोजपुर बजारको जिरोप्वाइन्टबाट बाइक र्‍याली शुरु गरी बसपार्क पानि ट्याकी हुँदै पुनः जिरोप्वाइन्ट र जिरोप्वाइन्टदेखि नारा जुलुससहित विरोध र्‍याली शुरु गरी बैंक रोड हुँदै चारभञ्जयांगमा पुगेर कोण सभामा परिणत भएको आलेले जानकारी दिएका छन ।

भोजपुर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला हो । भण्डारी र राई दुबै पूर्वएमाले हुन् ।

Published : Monday, 2020 December 14, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया