कांग्रेसका कार्यकर्ताद्वारा बाह्रबिसेमा कम्युनिस्ट सरकारको अन्त्यष्टि, प्रदर्शनमा बस्नेतद्वारा सम्बोधन

बाह्रबिसे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्युनिस्ट सरकारविरुद्ध देशव्यापी रुपमा विशाल प्रदर्शन गरेको छ ।

कम्युनिस्ट सरकारको भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ अघि बढेको भन्दै कांग्रेसले बाह्रबिसेमा विरोध तथा प्रदर्शन गरेको हो ।

कांग्रेसको क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिले गरेको बिरोध र्‍यालीमा कांग्रेसका नेता कार्याकर्ताले शंख फुकेर किरियापुत्रीको भेषमा प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारविरुद्ध बिरोध प्रदर्शन गरेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।

हजारौंको संख्यामा उपस्थित भएका कांग्रेसका कार्यकर्ताले सरकारको अधिनायकवाद, भ्रष्टाचार, बेथिति बिसंगती लगायतको विषयमा चर्को नारा लगाउँदै प्ले कार्ड बोकेका थिए ।

र्‍यालीपछि आयोजित विरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ओली नेतृत्वको सरकार लोकतन्त्र समाप्त पार्न लागेको आरोप लगाए ।
उनले भने, ‘अहिले सरकार पूर्ण असफल भइसकेको छ । सरकार भ्रष्टाचार गर्न र विदेशीको इशारामा नाचेको छ ।’

नेकपाका केही नेता राम्रो भए पनि अहिले नेताहरू एकपछि अर्को काण्डमा फस्दै गएको कांग्रेस नेता बस्नेतले बताएका छन् ।

कांग्रेस नेता बस्नेतले कम्युनिस्ट सरकारका जुनसुकै कु–कार्य तथा भ्रष्टचारहरूको जन्मकुण्डलीको चाङ लगाउँदै जाने र समय आयो भने त्यसको भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।

उनले कम्युनिस्टहरूले गरेको भ्रष्टाचारको एक–एक हिसाब–किताब गरिने बताएका छन् । विरोध कार्यक्रममा कांग्रेसका नेताहरू हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, लीला नेपाल, टंक कार्की, सुनकोसी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी ‘विनोद’, नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हास्यकलाकार दमन रुपाखेती र राजन चौलागाइँले आ–आफ्नो प्रस्तुतिमार्फत सरकारविरुद्ध व्याग्यात्मक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सरकारको दिन समाप्त भएको आभास दिलाउन नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सदस्य टपेन्द्र दर्नाल र नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता युधिर पौडेलले सेतो वस्त्र लगाएर विरोध जनाएका थिए ।

दर्जनौं नेता कार्यकर्ताले शंख फुकेर सरकारलाई डेट एक्सपायरको संख्या दिलाएका छन् । विरोध कार्यक्रममा गाउँ–गाउँबाट सवारी साधनसहित आएका थिए ।

सरकारविरुद्धको कार्यक्रममा जुगल, सुनकोसी र चौतारा सागाचोक गढी गाउँपालिकाबाट १५० जना नेपाली कांग्रेसमा प्रवेश गरको छन् । उनीहरूलाई कांग्रेस नेता बस्नेतले पार्टीमा प्रवेश गराएका हुन् ।

Published : Monday, 2020 December 14, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया