किन रोइस् भनेर कम्युनिस्टले जेल हालेको छः शेरबहादुर देउवा

हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कम्युनिस्टहरूले जितेर आएपछि अधिनायकवादी सरकार हाबी भएको आरोप लगाएका छन् ।

हेटौँडामा सोमबार कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै देउवाले बेथिति, भ्रष्टाचार, अराजकता बढेर गएपछि बाध्य भएर सरकारविरुद्ध प्रदर्शन गर्नु परेको बताए । सरकारकै कारण सडकमा राजा आऊ देश बचाऊको नारा लागेको बताए । देउवाले प्रधानमन्त्री केपी ओलीनै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरेका छन् ।

देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’

‘कसैलाई भ्रम नहोस्, राजा आउनेछैन’, देउवाले भनेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो पार्टी गणतन्त्रलाई स्थापित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

देउवाले कम्युनिष्टले जितेपछि रून पाइँदैन भनेर आफूले पहिले नै भनेको स्मरण गरेका छन् । आज रूनेलाई जेल हाल्ने काम भइरहेको उनले बताएका छन् ।

‘मैले भनेको थिएँ कम्युनिष्टले जितेपछि रून पाइन्न भनेको थिएँ आज किन रोइस् भनेर सरकारले जेल हाल्दैछ, त्यो कोरोनाले रोएको होस् कि खान नपाएर’, उनले भनेका छन् ।

सर्वसत्तावादका लागि आफूहरू नलडेको स्पष्ट पार्दै देउवाले जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको बताए ।

Published : Monday, 2020 December 14, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया