पर्वतले तान्यो देशभरिका कांग्रेस–कम्युनिस्टको ध्यान, नेकपाकी शक्तिशाली नेतृ एवम् जनप्रतिनिधि कांग्रेसमा प्रवेश

लामाखेत । पर्वत जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की जनप्रतिनिध मायादेवी रेग्मी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

जलजला गाउँपालिका– ६ मा तत्कालीन नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित रेग्मी आइतबार कांग्रेसमा प्रवेश गरेकी हुन् । रेग्मीसँग झण्डै १५ स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

वडा सदस्य रेग्मीसहितका नेता कार्यकर्ताहरूलाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र युवा नेता एवम् पर्वत कांग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले पार्टीमा भव्य स्वागत गरेका छन् ।

कांग्रेसका युवा नेता मल्ल जलजला गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

नेकपाकी नेतृ एवम् वडा सदस्य रेग्मीसहित केदारनाथ भुसाल, मनका भुसाललगायतका स्थानीय लोकप्रिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको युवा नेता मल्लले जानकारी दिएका छन् ।

कांग्रेसले अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्ध सोमबार देशभरि प्रदर्शन गर्दैछ । कांग्रेसको विरोध प्रदर्शनको एक दिन पहिला वडा सदस्यमा निर्वाचित रेग्मीले आफ्नो निर्वाचित पदको बेवास्ता गर्दै कांग्रेसको चारतारे झण्डा उचालेकी छिन् ।

कांग्रेस प्रवेश गर्ने क्रममा वडा सदस्य रेग्मीले जनताबाट झण्डै दुईतिहाइको मत पाउँदा समेत कम्युनिस्ट नेताहरू व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेकपाभन्ने पार्टी झुठको खेती गर्नेहरूको झुण्ड रहेको बताएकी छिन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद जोशीले कम्युनिस्टहरूमा वितृष्ण पैदा भएका कारण स्थानीय नेता कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा धमाधम प्रवेश गरिरहेको बताए ।

पर्वत कांग्रेसका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष मल्लले कांग्रेस पार्टी जनताको सुःख र दुःखमा सधैँ साथ रहनेभन्दै जनताको समर्थन बढेर गएको बताए । उनले कांग्रेसमा जनताको समर्थन दिन प्रतिदिन बढेर गएको बताएका छन् ।

Published : Sunday, 2020 December 13, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया