कांग्रेसको कुराले कम्युनिस्टहरूको पनि मन छोयो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सोमबारको सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शन हुनुभन्दा एक दिन अगाडि अपील जारी गरेर सबैलाई अधिनायकवादी सरकारविरुद्ध हुन लागेको प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् ।

‘सोमबारको प्रदर्शनमा एकता, जांगर र नवीन उत्साह साथ सहभागी हुन म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरूसंगै समस्त लोकतन्त्रवादीमा फेरिपनि हार्दिक अपील गर्दछु’, उनले भनेका छन् ।

‘कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार । बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज’, देउवाले भनेका छन्, ‘खेतीको बेला मल नपाएर छट्पटिएको किसान । लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक ।’

‘ब्यापार ठप्प हुंदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती ब्यहोरिरहेका साना ब्यवसायी देखि ठूला उधोगीसम्म’, देउवाले भनेका छन्, ‘रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदूर संभावना नदेखिरहेको युवा ।’

‘शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिला देखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन्, प्रश्न बोकि रहेका छन् र आक्रोश पोखिरहेका छन्’, सभापति देउवाले भनेका छन्, ‘यी सबैको पीडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ ।’

सभापति देउवाले नेपाली जनताको हरेक क्षेत्र, वर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्ने बताएका छन् ।

‘मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल हो नेपाली कांग्रेस । आज प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा कांग्रेस गम्भीर छ’, अपीलमा भनिएको छ ।

‘सोमबारको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ’, उनले भनेका छन् ।

कांग्रेसले मंसिर २९ गते सोमबार ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको छ । प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेको देउवाले जनाएका छन् ।

‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो’, देउवाले आरोप लगाएका छन् ।

‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, कांग्रेसले भनेको छ, ‘सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो ।’

‘कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनुछ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन हो’, कांग्रेसले भनेको छ ।

‘प्रदर्शनको तयारीमा जुट्नुभएका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन म अपील गर्दछु’, देउवाले अनुरोध गरेका छन् ।

‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरूलाई आग्रह गर्दछु’, सभापति देउवाले भनेका छन् ।

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरूमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?’, देउवाको प्रश्न छ ।

‘महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ?’, उनले प्रश्न गर्दै भने, ‘कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनुभन्दा अर्को सोच शून्यता के हुन सक्दछ ?’

तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी रहेको देउवाले बताएका छन् ।

ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको कांग्रेसले जनाएको छ ।

‘कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छभने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ’, देउवाले भने, ‘कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ ।’

‘चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ’, उनले भने, ‘यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ ।’

Published : Sunday, 2020 December 13, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया