कम्युनिस्टहरू ढाल्न कांग्रेसले उठायो वरिष्ठ अधिवक्ता शाक्यलाई, ओली–प्रचण्डको मनोबल डगमगायो

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला सर्वोच्च बार एसोसिएसनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको छ ।

नेपाली कांग्रेसले सर्वोच्च बारको नयाँ नेतृत्वको लागि वरिष्ठ अधिवक्ता एवम् संविधानविद् पूर्णमान शाक्यलाई अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेस निकटको डेमोक्रेटिक लयर्स एसोसिएसनले शाक्यको नेतृत्वमा उम्मेदवारहरू प्रतिस्पर्धामा उतारेको छ ।

डेमोक्रेटिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.पूर्णमान शाक्य, उपाध्यक्षमा अधिवक्ता नमराज रिजाल, सचिवमा अधिवक्ता ऋषिराम घिमिरे, सह–सचिव अधिवक्ता शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा अधिवक्ता विनादकुमार कार्की, महिला सदस्यमा अधिवक्ता अमिता गौतम पौडेल, सदस्यहरूमा अधिवक्ता विजयकुमार प्रधान, अधिवक्ता ओमकृष्ण श्रेष्ठ, अधिवक्ता ज्योतिदेव पनेरू, अधिवक्ता विकाश भट्टराई, अधिवक्ता राजेन्द्रप्रसाद साह, अधिवक्ता खडानन्द कँडेल, अधिवक्ता मिराज श्रेष्ठ, अधिवक्ता डा.रामहरि त्रिपाठी र अधिवक्ता निर्मला भण्डारीले प्रतिस्पर्धा गरेका छन् ।

डेमोक्रेटिक समूहले सर्वोच्च बारमा योगदान दिएका स्व.कुसुम श्रेष्ठका छोरा मिराज श्रेष्ठलाई टिकट दिएर उम्मेदवार बनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ अधिवक्ता रविनारायण खनालको नेतृत्वमा प्रगतिशील समूह बनाएर प्रतिस्पर्धामा उतारेको छ ।

प्रगतिशील समूहले उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा श्यामकुमार खत्री, सहसचिवमा शोभा कार्की र सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, अनन्त कार्की, दीपनारायण शाह, रमेशराज शर्मा सिग्देल, छविलाल घिमिरे, लेखनाथ भट्टराई र दिलकुमारी राइ र देवी रेग्मीलाई प्रतिस्पर्धामा उतारेको छ ।

कानूनी पत्रकारिताको पृष्ठभूमिबाट लामो समयदेखि क्रियाशील अधिवक्ताद्वय विकास भट्टराई र अनन्तराज लुइँटेल पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भट्टराई कांग्रेस निकटको डेमोक्रेटिक समूहबाट उम्मेदवार छन् । लुइँटेल प्रगतिशील समूहबाट उम्मेदवार बनेका छन् ।

डेमोक्रेटिक समूहबाट अध्यक्षको उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता शाक्यको प्रमाणपत्र संख्या १६७ रहेको छ । प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका अधिवक्ता खनालको प्रमाण पत्रको नम्बर १६८ रहेको छ ।

खनाललाई पनि संवैधानिक कानून पढाएका शाक्य ल क्याम्पसका प्राध्यापक हुन् । नयाँ नेतृत्वका लागि सर्वोच्च बारको निर्वाचन पुस ४ गते हुन लागेको छ ।

सत्तारुढ नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खैलाबैला भएका बेला सर्वोच्च बारको निर्वाचन हुन लागेको छ ।

कांग्रेससँग प्रतिस्पर्धामा पराजित हुने आशंकामा नेकपा निकटका अधिवक्ताहरू र उम्मेदवारहरूको मनोवल कमजोर भएको चर्चा चलेको छ ।

Published : Friday, 2020 December 11, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया