विश्वराज काण्डमा पूर्वमाओवादीहरूको निर्णय २४ घण्टा टिक्न सकेन, ओलीले देखाए पावर

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले पूर्वमाओवादी नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयलाई बेवास्ता गर्दै नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न बुधबार मात्रै निर्देशन दिएको थियो । समितिले गरेको निर्णय २४ घण्टा नपुग्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले पोखरेललाई एआईजीमा बढुवा गरिदिएर पूर्वमाओवादीहरू जिल खुवाइदिएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी पूर्वमाओवादी नेता रामबहादुर थापाले सम्हालेका छन् । राज्य व्यवस्था समितिको सभापति पनि पूर्वमाओवादी नेतृ शशि श्रेष्ठ छिन् ।

बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी एआईजी हरिबहादुर पाललाई दिइएको छ । यसअघि पाल अपराध अनुसन्धान विभागमा थिए ।

विश्वराज पोखरेल उप–प्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी बढुवा गरिएको आरोप छ ।

कम्युनिस्ट सरकारले गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिइ एउटा एआईजीको दरबन्दी थपेको चर्चा प्रहरीभित्र छ ।

Published : Thursday, 2020 December 10, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया