जनप्रतिनिधिहरूको तलब काटेर भएपनि खाडीबाट निःशुल्क उद्धार गरौँः कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले जनप्रतिनिधिहरूको तलब र सेवा सुविधा काटेर भएपनि खाडी मुलुकबाट नेपाली मजदुरहरूका उद्धार गर्न माग गरेका छन् ।

कांग्रेस नेता थकालीले सोमबार सामाजिक सञ्जालमार्फत खाडी र मलेसियालगायतका मुलुकमा रोजगारीमा गएर कोरोनाका कारण समस्यामा परेका नेपालीहरूलाई निःशुल्क उद्धार गर्नुपर्ने बताएका हुन् ।

उनले खाडी मुलुकहरूको ५० डिग्री सेन्टीग्रेडको तापक्रममा पसिना चुहाएर स्वदेशमा रेमिटेन्स पठाएर अर्थ व्यवस्थामा ठूलो योगदान गर्नेहरूलाई बेवास्ता गर्न नहुने बताए ।

‘कोरोनाभाइरसको महामारीको संक्रमणले प्रभावमा पर्नु भएका र झण्डै ५० डिग्री सेन्टीग्रेडको चर्को तापक्रममा खाडी मुलुक, मलेसिया लगायत देशहरूमा गई पसिना बगाई देशको अर्थतन्त्रमा ठूलो योगदान दिने हाम्रा दाजुभाई–दिदीबहिनीहरू जो मातृभूमि फर्कन चाहँछन्, उहाँहरूको सरकारले तुरन्त सुरक्षित उद्धार गरोस’, पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता थकालीले भनेका छन् ।

‘उहाँहरूको तत्काल सुरक्षित उद्धार र आम जनताहरूको उपचार र राहतको लागि हाम्रा जनप्रधिनिधिज्यूहरूको तलब, भत्ता र सांसद निर्वाचन क्षेत्र विकास कोष कटौती गरेर भए पनि तथा आवश्यक परे यो महासंकटको घडीमा विकास बजेट र श्रम कल्याणकारी कोष समेत लगानी गर्न सरकार पछि पर्नु हुँदैन’, थकालीले भनेका छन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले खाडी र मलेसियामा कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरूको उद्धार गर्न आलटाल गरिएको छ ।

उनीहरूको उद्धार गर्न पनि कम्युनिस्ट सरकारले मोटो रकम असुलेको छ । नेपाली कांग्रेसले शुरुदेखि नै खाडी र मलेसियामा रोजगारीमा गएका तथा समस्यामा परेकाहरूको निःशुल्क उद्धारको माग गर्दै आएको छ ।

कम्युनिस्ट सरकारविरुद्ध खाडीका विभिन्न स्थानमा रहेका राजदूतावासहरूमा नेपाली मजदुरहरूले नाराबाजी समेत गरेका छन् ।

कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीमा करोडौँ रुपियाँको घोटालाका समाचार आइरहेका छन् । तर, कम्युनिस्ट सरकारले समस्यामा परेका नेपालीलाई उद्धार गर्न पनि मोटो रकम असुल्न थालेको छ ।

कम्युनिस्ट सरकारले उद्धारमा आलटाल गरिरहेका बेला कांग्रेस नेता थकालीले खाडी र मलेसियाबाट नेपालीहरू ल्याउन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलब काटेरै भए पनि निःशुल्क उद्धार गर्न अपील गरेका छन् ।

Published : Monday, 2020 September 14, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया