पूर्वमाओवादीहरूको गोप्य वार्ता

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यशैलीको विरोधमा नेकपाभित्र लामो समयदेखि विवाद छ । विवादहरू मिलाउने प्रयासहरू पनि भइरहेका छन् । तर, असन्तुष्ट समूहले चाहे जसरी कुरा मिल्न सकेको छैन । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको कार्यशैली ठीक नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल पनि ओलीसँग सन्तुष्ट छैनन् ।

दोस्रो तहका नेताहरू राखेर कार्यदल बनाइयो । कार्यदलको सुझावको बहानामा दाहाल–नेपाल समूहले सेफल्याण्डिङको प्रयास गर्‍यो । केही हदसम्म नेकपाको विवाद मिलेको जस्तो देखिएको छ । ओलीले दाहाल–नेपाल समूहको मागअनुसार काम गर्ने कुनै छाँटकाँट देखाएका छैनन् । विवाद मिलाउन उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदमा मनोनीत गर्ने सहमति भएको थियो । गौतमलाई सांसद बनाउन विभिन्न अड्चनहरू शुरु भएका छन् । सांसद बन्छु भनेर खुसी भएका गौतमको खुसी धेरै दिन रहने अवस्था छैन ।

नेकपाभित्रको विवाद भइरहेका बेला पूर्वमाओवादी नेताहरूको बाक्लै सम्वाद र छलफलहरू भइरहेका छन् । दाहालले पूर्वमाओवादीका नेताहरूलाई खुमलटारमा बोलाएर कुराकानी गर्ने गरेको स्रोतको भनाइ छ । ती वार्ता र बैठकहरूमा ओली र पूर्वएमालेबाट धोका भएको चर्चा हुने गरेको छ । ओलीको कार्यशैलीले पूर्वमाओवादीको पतन भएको दाहालको गुनासाहरू हुने गरेका छन् ।

वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूसँग निषेधाज्ञाका बेला दाहालले खुमलटारमा बोलाएर परामर्शहरू गरिसकेका छन् । ती बैठकहरूका विषयमा बाहिर केही भनिएको छैन । तर, पूर्वएमालेसँग दाहाल खुसी छैनन् ।

यसैबीच, दाहालले पूर्वमाओवादी नेता कृष्णबहादुर महरासँग कुरा गर्न उर्जामन्त्री वर्षमान पुनलाई रोल्पा पठाएका छन् । रोशनी शाही काण्डपछि साइलेन्ट बस्दै आएका महरा पछिल्लो समय रोल्पामा बस्दै आएका छन् । महरा नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालसँग सन्तुष्ट छैनन् । दाहालले रोशनी काण्डमा असहयोग गरेको भन्दै महरा रिसाएका हुन् । महरालाई फकाउन र पहिलाकै अवस्थामा सम्बन्ध बनाउनका लागि दाहालले मन्त्री पुनलाई रोल्पा पठाएर महरालाई फकाउने प्रयास गरेका हुन् ।

महराले पछिल्लो समय ओलीलाई साथ दिएको पूर्वमाओवादीभित्र चर्चा छ । यदि महराले दाहाललाई साथ दिए भने पूर्वमाओवादीहरूमा जीवन आउनेछ । दाहालले महरालाई केन्द्रीय सचिवालयमा ल्याउन पहल गरेको स्रोतको भनाइ छ । महरा सचिवालय प्रवेश गर्नेवित्तिकै ओलीलाई झन् तनाब हुनेछ । पूर्वमाओवादी नेताहरू एकठाउँमा आउन विभिन्न प्रयासहरू भइरहेका छन् ।

महराको असहयोगका कारण दाहाल समस्यामा परेको चर्चा पूर्वमाओवादीभित्र रहने गरेको छ । महरा पावरमा रहँदासम्म दाहाललाई ठूलो सहयोग रहँदै आएको थियो । पूर्वमाओवादी र पूर्वएमाले नेताहरूका कारण नेकपाभित्र कुनै पनि बेला विष्फोटको अवस्था आउन सक्ने चर्चा पुनः हुन थालेको छ ।

Published : Thursday, 2020 September 10, 9:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया