कालीकोट कांग्रेसद्वारा पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत हस्तान्तरण

नमराज योगी

कालीकोट । नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले बाढीपहिरोबाट ज्यान गुमाएका १५ घरपरिवारका सदस्यलाई आर्थिक सहयोग गरेका छन् ।

नरहरिनाथ गाउँपालिकामा बाढीपहिरोबाट ज्यान गुमाएका १५ घरपरिवारलाई क्रिया खर्च स्वरुप आर्थिक सहयोग गरिएको हो ।

सभापति बमले नरहरिनाथ गाउँपालिकाको वडा नं. ४, ५ र ७ मा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताए । कम्युनिस्ट सरकारले बाढीपहिरोपीडितलाई बेवास्ता गरेको उनले बताए ।

बाढीपहिरोले नरहरिनाथ गाउँपालिकामा १९ जनाको ज्यान गएको थियो । ४ जना छिमेकी जिल्ला अछामका रहेका थिए । उनीहरूलाई आर्थिक सहायता दिन छुटेको छ ।

नरहरिनाथ गाउँपालिकाका १५ जनालाई पहिलो चरणमा नेपाली कांग्रेसको विपत कोषमा जम्मा भएको रकमबाट क्रिया खर्चस्वरुप नगद राहतरकम हस्तान्त्रण गरेको बमले बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा टे«ड युनियनका अध्यक्ष नगेन्द्र विष्ट र जिल्ला कार्यसमिति सह–सचिव तथा प्रदेश क्षेत्र ‘ख’का सभापति दमनबहादुर शाही, मीनबहादुर बोगटी, सबिनकुमार विष्ट, नेविसंघका जगतजंग बिष्ट, कार्यालय सचिव हरिश बोगटीलगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2020 September 9, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया