चीनद्वारा भारतको सिंगै अरुणाचल प्रदेशमा दाबी

बेइजिङ । चीन–भारतबीच सीमा विवाद भइरहेका बेला चीनले अरुणाचल प्रदेशमा दाबी गरेको छ । चीनको यो दाबीले नयाँदिल्लीलाई तनाब बढाइदिएको छ ।

भारतको अरुणाचल प्रवेश आफ्नो भूमि भएको दाबी चीनले गरेको हो । भारतले चीनको दाबीलाई खारेज गर्दै आएको छ ।

अरुणाचल प्रदेशसँग जोडिएको सीमामा चिनियाँ सेनाद्वारा ५ भारतीयलाई अपहरण गरिएको विषयमा केन्द्रीय मन्त्री किरण रिजिजूद्वारा उठाइएको प्रश्नको जवाफ दिँदै चीनले उक्त प्रदेश आफ्नो भूमि भएको दोहोर्‍याएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले कहिल्यै पनि अरुणाचल प्रदेशलाई मान्यता नदिने बताएका छन् । अरुणाचल प्रदेश दक्षिणी तिब्बतको भूमि भएको उनले जनाएका हुन् ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार प्रवक्ता लिजियानले अरुणाचल क्षेत्रमा ५ भारतीय नागरिक बेपत्ता भएको भन्नेबारे भारतीय सेनाबाट उठेको प्रश्नमा कुनै जानकारी नभएको बताएका छन् ।

भारतीय सेनाले अरुणाचल प्रदेशको सुबनसिरी जिल्लाबाट ५ जनालाई चिनियाँ सेनाले अपहरण गरेको आरोप लगाएको छ ।

केन्द्रीय मन्त्री रिजिजूले अपहरणका विषयमा भारतीय सेना चीनको जवाफको प्रतिक्षामा रहेको बताएका छन् ।

‘भारतीय सेनाले जनमुक्ति सेनाका समकक्षीलाई सन्देश पठाएका छन्’, उनले भने, ‘जवाफको प्रतिक्षा भइरहेको छ ।’

लद्दाख सीमामा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

सीमाका विषयमा भारत र चीनबीच विवाद हुँदै आएको छ । दुबै देशका सैनिकबीच बेलाबेला धकेलाधकेल हुने गरेको छ ।

Published : Wednesday, 2020 September 9, 7:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया