नेविसंघका ‘हिराे’हरूद्वारा कोरोनाको ‘हटस्पट’ वीरगञ्जमा १८ दिनदेखि खानाकाे प्याकेट वितरण

वीरगञ्ज । नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साले कोरोना महामारीका बेला समस्यामा परेका अति विपन्न परिवार र मजदुरहरूलाई निःशुल्क खाना वितरण गर्दै आएका छन् ।

नेविसंघ पर्साका अध्यक्ष विकास तिवारीका अनुसार दाल, भात, तरकारीको प्याकेट बनाएर भोको पेट भएका मजदुर र अति विपन्नहरूलाई वितरण गर्ने गरिएको छ । सोमबार नेविसंघले निःशुल्क खाना वितरण गर्न लागेको १८औँ दिन पुगेको छ ।

उनीहरूले घण्टाघर, माइस्थान, हनुमान मन्दिर, छप्कैया, हरेक रिक्सा ग्यारेज, विभिन्न घरहरूमा मोटरसाइकलमार्फत पुगेर खानेकुरा वितरण गर्ने गरेको अध्यक्ष तिवारीले बताए ।

‘नेविसंघका साथीहरू बिहान र बेलुका गरेर दुई चरणमा विभिन्न स्थानमा पुगेरै खानेकुरा उपलब्ध गराउने गरेका छौँ’, नेविसंघका अध्यक्ष तिवारीले भने, ‘कसैले व्यक्तिगत रुपमा फोन गरेर खानेकुरा माग्नु हुन्छ । मागेको ठाउँमा लगेर दिने गरेका छौँ ।’

नेविसंघका नेताहरूले वीरगञ्ज बजार परिक्रमा गरेर खानेकुरा सम्भव भएसम्म वितरण गर्ने गरेका छन् । उनीहरूले दैनिक ३५० जनासम्मलाई खानेकुरा उपलब्ध गराउने गरेका छन् ।

पर्साको वीरगञ्ज कोरोनाका कारण हटस्पट बनेको छ । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ।

निषेधाज्ञाका कारण मजदुर र अति विपन्न परिवारहरूलाई बिहान बेलुका छाकटार्न समस्या भएको छ । छाकटार्न समस्या भएकालाई नेविसंघ पर्साले आफैले भात, दाल र तरकारी प्याकेट बनाएर वितरण गर्ने गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरूले प्याकेटहरूलाई बक्सामा राखेर मोटरसाइकलमार्फत सम्बन्धित स्थानमा पुगेर वितरण गर्ने गरेका छन् ।

अध्यक्ष तिवारीको नेतृत्वमा शेष हजरा, केशव मिश्र बिट्टु पटेल, प्रिन्स तिवारी, प्रभु साह, साबीर हुसेन, आमिर अन्सारी, सेराज अन्सारी, समीर मन्सुरी, सञ्जीत पटेल, चन्दन सहनी, रोशन सिंह, अभय कर्ण, आकाश नेपाली, मनोज साह, बाबुनन्द पटेल, शैलेश यादब, रमेश मुखिया, रितेश कापर, मनीष यादब, सुधिर महतोलगायतले निःशुल्क खाना वितरणको काम गर्दै आएका छन् ।

Published : Monday, 2020 September 7, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया