तनाबमा परे प्रचण्डका बदनाम घरबेटी, अधिकारी र कोइरालाले देखाउन थाले हर्कत

काठमाडौं । सरकारले नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गर्ने भएको छ ।

स्रोतका अनुसार ती दुबै कम्पनीको राखेको ५–५ करोड धरौटी पनि जफत गर्ने तयारी भएको छ ।
कारबाहीमा पर्ने भएपछि अधिकारी र कोइराला शक्तिकेन्द्र धाउन थालेका छन् । उनीहरूले आवश्यक पर्‍यो भने सरकारलाई अदालतमा मुद्धा हाल्ने तयारी समेत गरेका छन् ।

राजनीतिक संरक्षणमा रासायनिक मल ल्याउने ठेक्का कुम्ल्याएका शैलुङ र होविकोले समयमा मल ल्याउन नसकेपछि आलोचना भएको थियो ।

कृषिमन्त्री घनश्याम भुसालले केही दिन अगाडि भदौ २० गतेसम्म शैलुङ र होविकोले मल ल्याउने लिखित सर्त रहेको भन्दै त्यो समयसम्म पर्खिने बताएका थिए । मन्त्री भुलासललाई मल काण्डमा मुछेर विभिन्न खालका आरोपहरू लागेका छन् ।

आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदार अधिकारी र कोइरालाका कम्पनीको धरौटी जफत गर्ने प्रक्रिया अगाडि बढाएको एक कर्मचारीले बताए ।

मलको ठेक्का हात पारेको शैलुङ कस्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी विवादित ठेकेदार हुन् । उनले धेरै ठाउँमा पहुँचका आधारमा ठेक्का लिएर अपलत्र पार्दै आएका छन् ।

अधिकारीलाई नेकपा अध्यक्ष प्रचण्डले राजनीतिक संरक्षण दिँदै आएका छन् ।

उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरू हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ ।

होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

कृषि मन्त्रालयले रासायनिक मल अब स्थानीय तहमार्फत सिधै किसानलाई वितरण गर्न निर्देशिका बनाउन लागेको छ ।

सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मलमा धेरै घोटालाहरू हुनुका साथै समयमा मल नपाउने समस्या भएपछि सरकारले स्थानीय तहलाई जिम्मेवारी दिन लागेको हो ।

Published : Sunday, 2020 September 6, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया