पार्टीलाई बलियो बनाउन कांग्रेसका युवा नेताहरूद्वारा परामर्श, सरकारको भण्डाफोर गरिने

काठमाडौं । पार्टीको १४औँ महाविधेशनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका युवा नेताहरूले कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श गरेका छन् ।

काठमाडौंमा आइतबार भएको परामर्शमा पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाएर अगाडि बढ्ने विषयमा परामर्श गरिएको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले जानकारी दिए । १४औँ महाधिवेशनलाई तोकिएको समयभित्र कसरी गर्न सकिन्छ भनेर नेताहरूको बीच छलफल गरिएको उनले बताए ।

‘पार्टीलाई कसरी बलियो बनाउने ? कोरोना महामारीका बेला कम्युनिस्ट सरकार कमिशन र भ्रष्टाचारमा लागेको छ, नागरिकताको विषय, मुलुकको अर्थ व्यवस्था धरासायी बन्दै गएको छ’, उनले भने, ‘समग्र विषयमा एउटा धारणा बनाएर पार्टीलाई सहयोग गर्नका लागि केही साथीहरू जम्मा भएर परामर्श गरेका हौँ ।’

बैठकमा कांग्रेसका नेताहरूले सबैलाई समेटेर जाने विषयमा युवाहरूबीच मेलमिलाप र दवाव आवश्यक रहेको निस्कर्ष पनि निकालिएको छ । प्रारम्भीक बैठक भएको भन्दै गिरीले आगामी दिनमा सबै पक्षका नेताहरूलाई पनि बोलाएर मिलेर जाने बताए ।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, धनराज गुरूङ, गुरूराज घिमिरे, गगन थापा, बद्री पाण्डे, रामकृष्ण यादव, चन्द्र भण्डारी, प्रदीप पौडेल, कमला पन्त, किरण यादब, रत्ना शेरचन लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 June 29, 6:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया