धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँमा सिल

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ९ राम्चे र बलेफी गाउँपालिकाको वडा नम्बर ७ र ७ मा स्थानीय प्रशासनले सिल गरेको छ ।

काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको हो ।

ती महिलाको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।

ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।

उनले धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको बताए ।

माइती गाउँबाट आफन्तहरू ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको छ ।

शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

Published : Saturday, 2020 May 16, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया