देउखुरीमा लाखौँको तरकारी बिक्री हुन छाड्यो, तनाबमा किसान, सराेकारवालाहरू माैन

लमही । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण दाङको देउखुरी उपत्यकाका तरकारी किसानहरू मर्कामा परेका छन् ।

लमही नगरपालिकाको घुम्ना र आसपासका तरकारी किसानहरूले लगाएको तरकारी लकडाउनका कारण बजारसम्म पुग्न नसकेपछि समस्या परेको हो ।

घुम्नाका तरकारी किसान रामन चौधरीले खेतमा आउर तरकारी खरिद गर्ने व्यापारी (बिचौलिया)हरूले शनिबारदेखि तरकारी खरिद गर्न अस्वीकार गरेको बताए ।

‘खेतमा आएर हामीसँग तरकारी खरिद गर्दै आएका व्यापारीहरूले शनिबारदेखि तरकारी खरिद गर्न सक्दैनौँ भनेका छन्’, उनले भने, ‘हामी त समस्यामा परेका छौँ । तरकारी बारीमा कुहिएर नोक्सानी हुने अवस्था आइसक्यो ।’

अर्का तरकारी किसान कालीचरण चौधरीले पनि तरकारी खेतमा नै कुहिने अवस्था आएको बताए । उनले व्यापारीहरूले खरिद गर्न अस्वीकार गरेपछि समस्या भएको बताए ।

लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले आफू तरकारी किसानहरूको समस्याप्रति सचेत रहेको बताए । उनले किसानहरूलाई तरकारी बिक्री गर्न लैजानका लागि समस्या भए सबै सहयोग गर्न तयार रहेको बताए ।

‘लकडाउनले किसानहरूलाई तरकारी बिक्री गर्न समस्या छ भने म सहयोग गर्छु । केही समस्या भए मलाई भने हुन्छ’, मेयर केसीले भने, ‘किसानहरूको बारेमा म सधैँ सकारात्मक छु । किसानहरूका लागि धेरै व्यवस्थापन पनि गरेको छु ।’

मेयर केसीले तरकारी बिक्री भएन भने किसानहरूलाई क्षतिपूर्ति दिने विषयमा स्पष्ट जवाफ दिन सकेनन् ।

घुम्नाका किसानहरूले लगातएको भिण्डी, बोडी, करेलसहितका तरकारी लकडाउनका कारण कुहिएर खेर जाने अवस्थामा रहेको छ ।

किसानहरूसँग बिचौलियाहरूले संकटको फाइदा उठाएर ५ देखि १० रुपियाँमा खरिद गरी बजारमा ६० देखि ८० रुपियाँ प्रतिकिलो बिक्री गर्दै आएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच तालमेल र राम्रो व्यवस्थापन हुन नसक्दा किसानहरूले उचित मूल्य पाउन नसकेको गुनासो आएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले लकडाउनका कारण सबैभन्दा धेरै किसानहरू समस्यामा परेको बताए । ‘किसानहरूको गुनासो धेरै आउने गरेको छ’, उनले भने, ‘लकडाउनका कारण सधैतिर समस्या छ । समस्या भएपनि स्थानीय निकायले किसानहरूको समस्यालाई सम्बोधन गर्नुपर्छ ।’

सरकारले पनि कृषिलाई महत्वका साथ नीति तथा कार्यक्रममा राखेको भन्दै नेता चौधरीले स्थानीय सरकारले किसानको तरकारी लकडाउनका बेला खेतसम्म पुगेर खरिद गर्नुपर्ने व्यवस्था मिलाइदिनुपर्ने बताए ।

‘अरु बेला किसानहरूले आफ्नो उत्पानहरू बजारसम्म लगेर बिक्री गर्दै आएका छन्’, कांग्रेस नेता चौधरीले भने, ‘लकडाउनका बेला स्थानीय सरकारले किसानहरूको मागको सुनुवाइ गर्नुपर्छ । तरकारी बिक्री भएन भने स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले मूल्यांकन गरेर उचित क्षतिपूर्ति दिनुपर्छ ।’

देउखुरी उपत्यकाका सिसहनियाँ, पिपरी, मौरीघाट, सत्बरिया, मसुरियालगायतका स्थानमा तरकारीको राम्रो उत्पादन हुन्छ । यी ठाउँमा उत्पादन हुने तरकारी स्थानीय बजार र घोराही, लमहीमा बिक्री हुँदै आएको छ ।

दाङमा उत्पादित तरकारी बाहिरी जिल्ला जान पाएको छैन । गइहाले पनि थोरै मात्रै जाने गरेको छ ।

Published : Saturday, 2020 May 16, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया