ऐन विपरितको माग राखेर नेकपाका वडाध्यक्षहरूद्वारा गोदावरीमा असहयोग, बैठक बहिस्कार
गोदावरी । कोरोना भाइरसका कारण मुलुक संकटमा परेका बेला नेपाली कांग्रेसले केन्द्रीय सरकारलाई सहयोग गरेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्षहरूले ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयरलाई असहयोग गरेका छन् ।
नेकपाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई गोदावरी नगरपालिकाको कार्यपालिका बोर्डको बैठकमा राख्न माग गरेर बैठक बहिस्कार गरेका हुन् । बोर्डको बैठक बिहीबार बसेको थियो ।
कोरोना भाइरसको संकटबाट जुध्न, चालु आर्थिक वर्षको विकासका आयोजनाहरू सञ्चालन गर्ने विषयमा छलफल गर्न आयोजित बैठक नेकपाका वडाध्यक्षहरूले बहिस्कार गरेपछि गोदावरी नगरपालिकामा तनाबको अवस्था सिर्जना भएको छ ।
स्थानीय तह सञ्चालन ऐन र संवैधानिक व्यवस्था विपरितको माग राखेर नेकपाका वडाध्यक्षहरूले गोदावरी नगरपालिकामा बखेडा झिकेका हुन् ।
ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसद नवराज सिलवाल र नेकपाका प्रदेश सांसद चेतनाथ सञ्जेलको उक्साहटमा नेकपाका वडाध्यक्षहरूले बैठक बहिस्कार गरेको आरोप लागेको छ ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले केही विषयमा सरसल्लाह गर्नुपर्ने भएकाले बैठक स्थगित भएको बताए । ‘केही विषयमा छलफल र सरसल्लाह गर्नुपर्ने भएको छ’, उनले भने, ‘नेकपाका वडाध्यक्षहरूले असहयोग नै गरेको मैले भन्दैन । उहाँहरूले सहयोग नै गर्छु भन्नुभएको छ । कोरोना भाइरसको महामारी भएकाले सरसल्लाह गरेर अगाडि बढ्ने छौँ ।’
गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मुकुन्द पहरीले कोरोना भाइरसको संक्रमण भएकाले सांसदसहितका जनप्रतिनिधिहरूको बैठक बसेर निर्णय गर्नुपर्ने माग आफूहरूको रहेको बताए ।
उनले बैठक बहिस्कार गरेको बताए । ‘कोरोना संक्रमणका बेला सांसदसहितका जनप्रतिनिधिहरू बसेर निर्णय गर्नुपर्छ भनेर हामीले दवाव दिन बैठक बहिस्कार गरेका हौँ’, उनले भने, ‘मेयर आफैले सांसदसहितका जनप्रतिनिधि बस्ने भनेर आश्वासन दिनुभएको थियो । यस्तो बेला सबै जनप्रतिनिधिहरूको रायसुझावअनुसार चल्नुपर्छ ।’
कार्यविधि विपरित बैठकमा सांसदहरूलाई बोलाउने तपाईहरूको माग उचित छैन भन्छन् नि भन्ने जिज्ञसामा वडाध्यक्ष पहरीले भने, ‘कार्यविधिले सांसदहरूलाई राख्ने भनेको छैन ।
तर, महामारीका बेला जनप्रतिनिधिहरूलाई राखेर सरसल्लाह लिएर निर्णय गर्नुपर्छ ।’ उनले महिनाको दुई पटक बैठक बस्ने भनिए पनि त्यो निर्णय कार्यान्वयन हुन नसकेको बताए ।
गोदावरी नगरपालिकामा नेकपाका वडाध्यक्षहरू धेरै छन् । नेपाली कांग्रेसले मेयर र उपमेयर तथा केही वडाध्यक्षहरू जितेको छ ।
गोदावरी नगरपालिकामा बहुमत बोर्ड सदस्य नेकपाका रहेका छन् । २४ सदस्यीय बोर्डमा नेकपाका १६ जना र नेपाली कांग्रेस समर्थित ८ जना रहेका छन् ।
कार्यसम्पादनको हिसाबले काठमाडौं उपत्यकाभित्र गोदावरी नगरपालिकाले अग्रणी स्थानमा रहेर काम गर्दै आएको छ ।
उत्कृष्ट काम गरेको भन्दै गोदावरी नगरपालिकालाई पत्रकार महासंघ ललितपुर शाखाले सम्मान समेत गरेको छ ।
उक्त सम्मान महान्यायाधिवक्ता अग्नि खरेलले प्रदान गरेका थिए ।
गोदवरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरभित्र कुनै राजनीतिक पूर्वाग्रही नभएर कार्यसम्पादन गर्दै आएको स्थानीयको भनाइ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया