यी हुन् कोरोना भाइरसको ‘जिनेटिक’ बेच्ने नेपाली समूह, शुरु भयो कारबाही

काठमाडौं । सरकारको अनुमतिबिना पहिलो नेपाली कोरोना संक्रमित युवकको जिनेटिक विदेशीलाई दिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकसहित छ जनालाई कारबाही भएको छ ।

कोरोना भाइरसको जिनेटिक सरकारी अनुमति बिना अनुसन्धानका लागि दिइएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाससहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ ।

स्वास्थ्य अनुसन्धान परिषदले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका निर्देशक बासुदेव पाण्डे, पूर्वनिर्देशक विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बाँस्तोला, प्रयोगशालाका डा.रञ्जीत साह र हेमन्तचन्द्र ओझालाई लिखित स्पष्टीकरण सोधेको छ ।

वैशाख २९ गते उनीहरूलाई लिखित स्पष्टीकरण सोधिएको छ । परिषद् ऐन २०४७ बमोजिम मानव स्वाथ्यको अनुसन्धान गर्नु परेमा परिषदको स्वीकृत लिनुपर्ने हुन्छ ।

‘तपाईंहरूको टोलीले विदेशीहरूलाई समेत संलग्न गरी माइक्रो बायालोजी रिसोर्स अनाउन्सेमन्टमा प्रकाशन गरेको अनुसन्धान लेख गैरकानूनी भएकाले तपाईहरूलाई किन कारबाही नगर्ने ?’, स्पष्टीकरण पत्रमा उल्लेख छ ।

यी ६ जनाको टोलीले स्वीकृति नलिई अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाश गरेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको स्रोतले जनाएको छ ।

नेपालको पहिलो कोरोना संक्रमित युवाको भाइरसको नमूना परीक्षणका लागि हङकङको प्रयोगशालामा पठाइएको थियो । त्यतिबेलासम्म नेपालमा कोरोना परीक्षण प्रयोगशाला बनिसकेको थिएन ।

ती युवालाई कोरोना संक्रमण भए नभएको पत्ता लगाउन मात्र पठाइएको नमूना सरकारलाई थाहा नदिइ उनीहरूले विदेशी संस्थालाई अन्य प्रयोजनका लागि अनुसन्धान तथा सिक्वेन्सिङ गर्न दिइएको खुलेपछि कारबाही अगाडि बढेको छ ।

सबैजनाले आफूहरुबाट गम्भिर गल्ति भएको स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठकमा स्वीकार गरेका छन् । मन्त्रालयले उनीहरूको यो गम्भीर अपराध भएको भन्दै छानविन थालेको छ ।

अहिले स्पष्टीकरण सोधिएको छ । यसलाई भाइरस बेचेको अर्थमा लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यदि यो भाइरस नयाँ थियो भने विदेशी कुनै कम्पनीले यसको भ्याक्सिन बनाएर हाम्रो प्रतिलिपि अधिकार समेत खोस्ने थियो ।

Published : Thursday, 2020 May 14, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया