कांग्रेस नेता खतिवडाद्वारा ओखलढुंगामा ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण (तस्वीर)
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुंगा जिल्लामा ठूलो परिणाममा स्वास्थ्य सामग्रीहरू निःशुल्क हस्तान्तरण गरेका छन् ।
पूर्वसांसद समेत रहेका कांग्रेस नेता खतिवडाले बिहीबार सदरमुकाम ओखलढुंगामा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य सामग्रीहरू ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी आचार्यमार्फत खतिवडाले एकद्वार नीतिअनुसार ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरसको संक्रमण रोकथाम र ओखलढुंगाका जनताको उपचारमा सहयोग पुगोस भनेर खतिवडाले स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएका हुन् ।
यसअघि पनि खतिवडाले पटक पटक मास्क, सेनिटाइजर, पीपीई, ग्लोबससहितका सामग्री उपलब्ध गराइसकेका छन् ।
खतिवडाले स्यानिटाइजर २ सय ८० लिटर, दश वटा किटनाशक स्प्रे मेसिन, ५० लिटर क्लोरिन, ३ हजार सर्जिकल मास्क, एन ९५ मास्क १ सय ३९ थान, फेस सेभर ५० थान, पीपीई २७ थान र केही थर्मल गन हस्तान्तरण गरेका छन् ।
युवा नेता खतिवडाले जिल्लामा फ्रन्टलाइनमा बसेर रिपोर्टिङ गर्ने एक दर्जन बढी पत्रकारहरूलाई एन ९५ मास्क, ज्याकेट र सेनिटाइजर उपलब्ध गराएका छन् ।
कांग्रेसका नेता खतिवडाले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस, उद्योग वाणिज्य संघलाई सेनिटाइजर प्रमुख जिल्ला अधिकारीमार्फत दिएका छन् ।
उनले प्रत्येक गाउँपालिकालाई २० लिटरका दरले ८ वटा गाउँपालिकामा १ सय ६० लिटर सेनिटाइजर हस्तान्तरण गरेका छन् । ७५ वडा वडाहरूमा दुई लिटरको खतिवडाले सेनिटाइजर उपलब्ध गराएका छन् ।
स्वास्थ्य सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले पहिलो पटक कोरोना रोकथामका लागि यति धेरै स्वास्थ्य सामग्री आएको बताए । आचार्यले खतिवडालाई धन्यावाद समेत दिएका छन् । खतिवडाद्वारा उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरू आवश्यक्ताका आधारमा वितरण गरिने आचार्यले बताए ।
आफ्नो अभियोनमा सहयोग गर्ने सबैलाई खतिवडाले धन्यावाद दिएका छन् । उनले ओखलढुंगाका जनताको स्वास्थ्य सुरक्षाका लागि आफूले जुनसुकै समयमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
खतिवडाले केही सामग्री अझै उपलब्ध गराउन बाँकी रहेको भन्दै छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन् ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति ओखलढुंगा, जिल्ला प्रहरी कार्यालय, जिल्ला सशस्त्र प्रहरी कार्यालय, नेपाली सेना, नेपाल प्रेस युनियन, ओखलढुंगाका सबै स्थानीय तह, उद्योग वाणिज्य संघ, रेड क्रस, ओखलढुंगा सामुदायिक अस्पताल लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेसका नेता खतिवडाले काठमाडौंबाट ती सामग्रीहरू बुधबार लगेर ओखलढुंग आएका थिए । बिहीबार सामग्रीहरू हस्तान्तरण गरेर काठमाडौं फिर्ता भएका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया