नेकपाका ३८ जना सांसदहरूद्वारा संसदमा अकस्मात ‘हँगामा’, छक्क परे नेताहरू

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले बोल्न नपाएपछि संसदको बैठकमा केही सांसदले हँगामा गरेका छन् भने केही सांसदले बैठक नै बहिस्कार गरिदिएका छन् ।

बोल्न नपाएपछि किन बैठकमा बस्ने हो भन्दै नेकपाका एक दर्जनभन्दा धेरै सांसदहरू बाहिरिएको पीडित सांसदमध्येका एक जनाले बताए ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपाका सांसदहरूले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि बोल्न नपाएपछि केही सांसदहरू बैठक छाडेर हिँडेका हुन् ।

केही सांसदले संसदको बैठकभित्रै होहल्ला गरेर हँगामा खडा गरेका थिए ।

अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा संसदमा पेश गरिएको प्रस्तावमा तीन दिनदेखि सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । तर, नेकपाले भेदभाव गर्दै आफ्ना ३८ जना सांसदहरूलाई बोल्न समय नदिएको ती सांसदहरूले बताएका छन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङ र सचेतक शान्ता चौधरीसँग सांसदहरूले तीन दिनदेखि समय माग गरेर नाम टिपाएका थिए ।

छलफलमा बोल्न नपाउने नेकपाका सांसदहरूमा हीराचन्द्र केसी, नारायणप्रसाद मरासिनी, गंगा सत्गवाँ चौधरी, केदार सिग्देल, विमला विश्वकार्मा (झापा), दुर्गाकमुार विश्वकर्मा, विद्या भट्टराई, ईन्दुकुमारी शर्मा, गौरीशंकर चौधरी, लक्ष्मीकुमारी चौधरी, प्रेमप्रसाद तुलाचन, गोपालबहादुर बम, नारायणप्रसाद खतिवडा, विमला विक (बर्दिया), शान्तिमाया तामाङ पार्खिन, निरुदेवी पाल, यशोदा गुरुङ सुवेदी, अञ्जना विशुंखे, गणेश ठगुन्ना, लालबहादुर थापा, बृजेशकुमार गुप्ता लगायत ३८ जना सांसद रहेका छन् ।

संसदको अर्को बैठक जेठ २ गते पौने ४ बजे बस्नेछ । सो दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट सरकारको आर्थिक वर्ष ०७७–७८ को नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ ।

Published : Wednesday, 2020 May 13, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया