कांग्रेस नेताहरूद्वारा ललितपुरका तीन गाउँपालिकालाई आर्थिक सहयोग प्रदान

ललितपुर । कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानमा साथ दिँदै नेपाली कांग्रेसका तीन जना नेताहरूले ललितपुर जिल्लाको दक्षिणी भेगमा पर्ने तीन वटा गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन् ।

बिहीबार बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकालाई ललितपुर कांग्रेसका नेताहरूले ५१–५१ हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

नेपाली कांग्रेस नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशमशर राणा, युवा नेता तथा कांग्रेसको खेलकुद विभागका सदस्य सचिव मीनकृष्ण महर्जन र महासमिति सदस्य ऋषिराम घिमिरे संयुक्त रुपमा प्रत्येक गाउँपालिकाको आकस्मिक विपत व्यवस्थापन कोषलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका हुन् ।

सहयोग रकम हस्तान्तर गर्दै पूर्वअर्थ राज्यमन्त्री राणाले आपतकालीन अवस्थामा प्रत्येक गाउँपालिकामा आवश्यक सामान खरिद गरी विपन्न, दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने जनतालाई राहत दिन आग्रह गाउँपालिकाहरूलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा पनि लकडाउनको अवस्था रहेको बताउँदै कांग्रेस नेता राणाले लकडाउनलाई सबैले पूर्ण रुपमा पालना गर्नुपर्ने बताए ।

उनले एकल महिला, बुढा बाआमा, बेसाहरा र श्रमजीवी वर्गलाई भोकै बस्नुपर्ने अवस्था नआओस् भनेर आफूहरूले संयुक्त रुपमा सहयोग गरिएको बताए । नेता राणाले सरकारले राहत बितरणको कामलाई अझै तिब्रता दिन जरुरी रहेको बताए ।

जसले पनि राहत बितरण गर्दै हिँड्दा भिडभाड बढ्ने र कोरोना संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै राणाले स्थानीय तहलाई जिम्मा लगाएर एकद्वार प्रणालीमार्फत राहत बितरण गर्ने वातावरण मिलाउनुपर्ने बताए ।

बागमती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष तथा नेपाली कांग्रेस बागमती गाउँपालिका सभापति विष्णुप्रसाद तिमल्सिना, प्रदेश ‘क’ सभापति सुन्दरमान थिङ, क्षेत्रीय सदस्य सरोजमेयर कायस्थ, गोदावरी नगरपालिका सभापति सुरोज श्रेष्ठ, इन्जिनियर शैलेस श्रेष्ठ, समाजसेवी होमप्रसाद घिमिरेलगायतको टोलीको सहभागिता रहेको थियो ।

यसअघि, नेपाली कांग्रेसका नेताहरू राणा, महर्जन र घिमिरेले गोदावरी नगरपालिकालाई बुधबार एक लाख रुपियाँ आर्थिक सहयोग गरेका थिए ।

Published : Thursday, 2020 April 9, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया