प्रा.सुवेदीलाई हल विश्वविद्यालयको महाविद्यावारिधि

लन्डन । प्रा.सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले उनले प्राज्ञिक क्षेत्रमा र खास गरि अन्तर्राष्ट्रिय कानून र मानव अधिकार कानूनको विकासमा दिएको योगदानको कदर गर्दैमानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त विश्वविद्यालयका उपकुलपतिबाट सो सम्बन्धि पत्र पाउंदा आफू हर्षित भएको प्रा.सुवेदीले बताए ।

उक्त विश्वविद्यालयबाट करीव ३० वर्षअघि प्रा.सुवेदीले विशिष्ट श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका थिए । त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।

गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले दुई वर्ष लगाइ उनका सबै प्रकाशित कृतिको मुल्यांकन गरी महाविद्यावारिधि उपाधि प्राप्त गर्न उपयुक्त ठहराइ सो उपाधि प्रदान गरेको थियो ।

यसवर्ष अक्सफोर्डले प्रा.सुवेदीको नाममा स्नातक तह र विद्यावारिधिमा गरि दुईवटा वार्षिक पुरस्कार स्थापना गरेको थियो । यसैले होला ‘विद्ययाऽमृतमश्नुते’ अर्थात विद्याले मानिसलाई अमर बनाउँछ भनिएको ।

यसरी बेलायतका दुईवटा प्रतिष्ठित विश्वविद्यालयबाट दुईवटा महाविद्यावारिधि पाउने व्यक्ति विद्याको खानी भनेर जानिएको मुलुक बेलायतमै विरलै छन् ।

विद्यावारिधि जस्तो सर्वोच्च प्राज्ञिक उपलब्धिलाई प्राज्ञिक जीवनको उत्कर्ष मानिन्छ । लमजुङबाट ल क्याम्पस हुंदै बेलायतको अक्सफोर्ड र हल विश्वविद्यालयमा अध्ययन गरेका प्रा. सुवेदीले संसारका ५ वटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन् र नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य देश लाई पनि कानूनी सल्लाह दिएका छन् ।

उनका आठवटा अन्तर्राष्ट्रियस्तरका ग्रन्थ र थुप्रै प्राज्ञिक लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् । उनका कृतिहरु चिनिया र फारसी भाषा लगायतका विदेशी भाषामा अनुवाद भई प्रकाशित भएका छन् ।

Published : Thursday, 2020 April 9, 4:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया