कांग्रेस नेताहरूको प्रश्न, ‘कोरोना घोटालाका दोषीलाई किन संरक्षण गर्नुभयो ओलीजी ?’

काठमाडौं । नेपाली कांग्रेसका भातृसंस्थाका पूर्वअध्यक्षहरूले कोरोना भाईरसको संक्रमणको महामारी शुरु भएको ३ महिना बितिसक्दा समेत कोरोनाको नियन्त्रणमा सरकार संवेदनशील र गम्भीर नभएको भन्दैं आपत्ती जनाएका छन् ।

पूर्वअध्यक्षहरूले जतिसक्दो छिटो परीक्षण सामग्री र स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरणको व्यवस्था गर्नुपर्नेमा सरकारका मन्त्रीहरू नै कमिशनको चक्करमा लागेर ढिलाइ गरेको भन्दै आपत्ति जनाए ।

सरकारका जिम्मेवार मन्त्री नै निहीत स्वार्थ र कमिसनको खेलमा लागेको कुरा बाहिर आएपनि त्यसलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो पछिल्लो सम्बोधनमा समेत नजरअन्दाज गरेको भन्दै पूर्वअध्यक्षहरूले गम्भीर आपत्ति प्रकट गरेका हुन् ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउन र तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवनरक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘संकटको मौकाछोपेर नागरिकको स्वास्थ्यमाथि भइरहेको यो तहको खेलवाडको जति भर्त्सना गरेपनि पुग्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘जनताको स्वास्थ्य प्राथमिकतामा राख्नुपर्ने बेलामा स्वार्थवश ठेक्का दिएकै कारण अहिलेसम्म परीक्षणको दायरा बढ्न सकेको छैन् ।’

‘जसका कारण नागरिकको स्वास्थ्य थप जोखिममा परेको छ । फेरि पनि विभिन्न बाहनामा स्वार्थ समूहलाई नै पोस्ने गरी सरकारले स्वास्थ्य सामग्री खरिदमा ढिलाई गरिरहेको छ, यो अर्को गम्भीर धोका हो’, विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउन र तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवनरक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

‘ज्यानको बाजी लगाएर खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई बिशेष धन्यवाद दिदैँ उनीहरूका लागि प्रोटेक्टेड हुने पीपीई लगायतका स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, हाल करीब ५०० मात्र रहेको भेन्टिलेटरको संख्या बढाएर १ हजार ५ सय पु¥याउन, गुणस्तरीय टेस्टिङ किड र मेशिनको उचित प्रबन्ध गरी प्रदेशमा भएका प्रयोगशालाको क्षमता बृद्धि गर्न तथा पर्याप्त बिशेषज्ञको व्यवस्था गर्न र जोखिम प्राथमिकताका आधारमा चेकजाँच गर्न तथा परीक्षणको दायरा बढाएर भय र त्रासको अन्त्य गर्न पनि माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

पूर्वअध्यक्षहरूले देशका दक्षिण भूभागमा खुला सिमानाका कारण लुकिछिपी लकडाउन उल्लंघन गर्ने क्रम जारी रहेकाले सीमामा रहेका नेपालीहरूको नैसर्गिक अधिकारको ख्याल गरी उनीहरूलाई सुरक्षित तवरले आफ्नो देशमा ल्याएर क्वारेन्टाईनको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यान आकृष्ट गराएका छन् ।

महामारीबाट आउन सक्ने सम्भावित संकटलाई आत्मसाथ गरी चेकजाँचको बिशेष व्यवस्था मिलाउन, न्यून आएका भएका मजदूर किसानका लागि बिशेष राहत, उद्योगी व्यावसायीका अवस्था हेरेर राहत तथा विदेशमा रहेका विद्यार्थी कामदारको स्थिति पत्ता लगाएर कुटनीतिक नियोगमार्फत उचित कदम चाल्न पनि पूर्वअध्क्षहरुले सरकारसँग जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा जारी गर्नेहरूमा विनोदप्रसाद कायस्थ, उदय शम्शेर राणा, महेन्द्र शर्मा, रञ्जित कर्ण र नैनसिंह महर रहेका छन् ।

Published : Thursday, 2020 April 9, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया