आफैलाई भोट दिएका जनतालाई पनि सरकारले राहत दिन सकेनः हरि रोका

काठमाडौं । वाम विश्लेषक हरि रोकाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका क्रममा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गाको विषयमा एक अंश पनि नसोचेको आरोप लगाएका छन् ।

बिहीबार एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा रोकाले सरकारले मजदुरी गर्ने वर्ग र अति निम्न परिवारलाई राहत दिने विषयमा कुनै पनि ठोस कार्यक्रम नदिएको बताए ।

वाम विश्लेषक रोकाले सरकारले भोट दिएको वर्गलाई पनि सहायता दिन नसकेको बताए । ‘काठमाडौंमा बसेका मजदुरको समस्या सम्बोधन पनि यो सरकारले गर्न सकेन । त्यही वर्गले झण्डै दुईतिहाइको भोट दिएको थियो’, उनले भने, ‘भोट दिएको वर्गले यो सरकार मेरो हो भन्ने नै सोँच्न पाएन ।’

रोकाले काठमाडौंलाई पाल्ने आसपासका जिल्लाका किसानहरूको बारेमा पनि सरकारले केही सहयोग गर्न नसकेको बताए ।

‘मुलुक लकडाउनमा छ । राहत पाइन्छ कि भन्ने आशमा जानता छन्’, उनले भने, ‘सरकारले राहत दिने त भनेको छ तर, जनताले पाएका छैनन् ।’

Published : Thursday, 2020 April 9, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया