लकडाउनबाट समस्यामा परेका विद्यार्थीलाई राहत देउः नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लकडाउनका कारण घर जान नपाएर डेरामै बसिरहेका विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बुधबार विज्ञप्ति जारी गरेर देशभरि पढाइका क्रममा डेरा लिएर बसेका विद्यार्थीलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका हुन् ।

विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत सबै किसिमका आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरे ।

ढुंगानाले भने, ‘अप्ठ्यारो परेको बेलामा मेरो देशको सरकारले मलाई सहयोग गर्छ ।’

‘देश–विदेशमा रहेका रहेका नेविसंघ मातहतका ईकाइहरू तथा नेविसंघमा आबद्ध साथीहरूलाई यस विपत्तिको क्षणमा आफ्नो क्षेत्रमा रहेका विद्यार्थी र सम्पूर्ण जनसमुदायको दुःखमा आवश्यक साथ–सहयोग गरी तथा आवश्यक परेकालाई आफै अग्रसर भएर राहत प्रदान गर्न आह्वान गर्दछु’, ढुंगानाले भनेका छन् ।

देशभरि सञ्चालन भएका राहत वितरण कार्यको पनि आफ्नो ढंगले अनुगमन गर्दै पाउनुपर्नेले नपाएको भए वा नपाउनुपर्नेले पाएको भए त्यसविरुद्ध खबरदारी गर्न र राहत वितरणका क्रमम केही अनियमतिता वा भ्रष्टाचर भएको भए त्यसविरुद्ध तरुन्त आवश्यक कदम चाल्न नेविसंघले आह्वान गरेको छ ।

‘बेमौसमी बाजा नबजाउने नाममा गरीब दूःखीलाई बाँड्न आएको राहतमा भ्रष्टाचार हुँदा पनि चुप लागेर टुलुटुलु हेरेर बस्नु झन् ठूलो अपराध हो’, अध्यक्ष ढुंगानाले भनेका छन् ।

कोरोना भाइरसको संक्रमणले समग्र विश्वलाई जकड्दै लगेको यस क्षणमा यसको संक्रमण फैलन नदिन अत्यन्त सावधानी अपनाउनु पर्ने आवश्यकता ढुंगानाले औल्याएका छन् ।

‘अर्कोतिर लकडाउन जस्तो सतर्कताको उपाय अपनाउँदै गर्दा यसकै कारण दैनिक जनजीवन कष्टकर नबनोस् भन्ने तर्फ पनि सचेत हुनु पर्ने अवस्था छ’, उनले भनेका छन् ।

शिक्षा आर्जन गर्न घरदेखि टाढाका विभिन्न शहरहरूमा डेरा लिइ बसेका विद्यार्थी र दैनिक ज्यालादरी गरेर जीवन–जिउने श्रमजीवी वर्गलाई लकडाउनको अवधिमा जीवन धान्न गाह्रो हुँदै गएको ढुंगानाले बताएका छन् ।

अध्यक्ष ढुंगानाले यी दुई वर्गलाई पहिलो प्राथमिकतामा राखि प्रभावकारी ढंगबाट राहत वितरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

Published : Wednesday, 2020 April 8, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया