काठमाडौंका प्रहरी प्रमुख सुवेदी भृकुटीमण्डपको क्वारेन्टाइनमा

काठमाडौं । कोरोना भाइरसको संक्रमणको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेको छ ।

चैत ११ गतेबाट शुरु भएको लकडाउन वैशाख ३ गतेसम्मका लागि तोकिएको छ ।

लकडाउको मुख्य उद्देश्य भनेको आम सर्वसाधरणहरुबीचको दूरी कामय गरी कोरोना भाइरसको संक्रमण फैलन नदिनु नै हो ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने हुँदा सरकारले लकडाउन नै घोषणा गरेर संक्रमण रोकथाम गर्ने प्रयास गर्ने गरेको छ ।

आमसर्वसाधरण घरमै बसेर लकडाउन सफल परिरहेको अवस्थामा नेपाल प्रहरी भने अहोरात्र सेवामा खटिरहेको छ ।

काठमाडौंको सुरक्षाको जिम्मेवारी पाएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी पनि घरमै नगई आम जनताको सेवामा खटिरहेका छन् ।

‘मैले यतिबेला परिवारलाई दिने समय पनि देश र जनताका लागि दिइरहेको छु’, उनले भने ।

एसएसपी सुवेदीले लकडाउनका बेला प्रहरीको काम बाहिर नै हुने भएकाले परिवार, आफन्त र छिमेकीहरूको स्वास्थ्यलाई ख्याल गरेर आफू अहिले प्रहरी क्लब, भृकुटीमण्डपमा नै बस्ने गरेको बताए ।

मातहतका प्रहरीलाई पनि सकेसम्म ब्यारेकमा नै बस्न आग्रह गर्दै उनले परिसरदेखि मातहतका कार्यालयमा दूरी कायम गरेर सुत्ने र खाने व्यवस्था मिलाइएको जानकारी गराए ।

यसरी बस्दा बस्दै पनि कोही कसैलाई ज्वरो आएमा वा कोरोना संक्रमणको आशंका लागेमा परिसरभित्र छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिएको उनले बताए ।

एसएसपी सुवेदीले त्यसपछिको अवस्थामा भने नेपाल प्रहरी अस्पतालको क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाएको जानकारी गराए ।

भयावह अवस्थामा नेपालमा भने प्रहरीले २४ घण्टा नै सेवा प्रदान गरेर सह्राहनीय काम गरेको छ ।

Published : Wednesday, 2020 April 8, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया