कांग्रेस नेताहरूद्वारा गोदावरीलाई दिए एक लाख सहयोग

ललितपुर । कोरोना भाइरसको संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि गोदावरी नगरपालिकाले स्थापना गरेको आपतकालीन् कोषमा नेपाली कांग्रेस ललितपुरका नेताहरूले एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् ।

बुधबार कांग्रेसका नेता समेत रहेका गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई ललितपुर कांग्रेसका नेताहरूले कोषका लागि आर्थिक सहयोग गरेका हुन् ।

कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, नेपाली कांग्रेसका खेलकुद विभागका सदस्य सचिव एवम् ललितपुर १ ‘क’का प्रदेश सभाका उम्मेदवार मीनकृष्ण महर्जन र ललितपुर क्षेत्र नम्बर १ ‘ख’ प्रदेश सभाका उम्मेदवार ऋषिराम घिमिरेले १ लाख १ हजार रुपियाँ सहयोग गरेका छन् ।

नगरपालिकामा उपस्थित भई तीन जना नेताहरूले मेयर महर्जनलाई हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको संकटबाट बच्न र महामारीको नियन्त्रण गर्न स्थानीय सरकारले गरेको प्रयासलाई सघाउन आफूहरूले सहयोग गरेको नेताहरूले बताएका छन् ।

पूर्वअर्थ राज्यमन्त्री राणाले नेपाल सरकारले निर्णय गरेको एकद्वार प्रणालीअन्तर्गत रहेर आफूहरूले गोदावरी नगरपालिकाका मेयरलाई सहयोग रकम हस्तान्तरण गरेको बताए ।

नेपाली कांग्रेस खेलकुद विभागका सदस्य सचिव महर्जनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गोदावरी नगरपालिकाले गरेको प्रयासमा आफूहरूले सहयोग गरेको बताए ।

कांग्रेसका नेता घिमिरेले सबैको संयुक्त प्रयासले कोरोना भाइरस नियन्त्रण गर्न सकिनेभन्दै स्थानीय तहको कोषमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

कांग्रेसका नेताहरू राणा, महर्जन र घिमिरेले आ–आफ्नो क्षेत्रभित्र रहेका कोन्ज्योसोम, बागमती, मंहाकाल गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण गर्ने तयारी रहेको बताएका छन् ।

उनीहरूले बिहीबार ती गाउँपालिकाको आपतकालीन कोषमा ५०–५० हजारका दरले सहयोग रकम हस्तान्तरण गर्ने जनाएका छन् ।

गोदावरी नगरपालिकाका मेयर महर्जनले राहत कोषमा जम्मा भएको रकम कार्यपालिकाको बोर्ड बैठकले निर्णय गरी निष्पक्ष तरिकाले खर्च गरिने बताए ।

कांग्रेसका नेता राणा, महर्जन र घिमिरेले विगतमा पनि प्राकृतिक विपति, भूकम्प, बाढी, पहिरोका समयमा पनि राहत र सहयोग गर्दै आएका थिए ।

Published : Wednesday, 2020 April 8, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया